काठमाडौं- चलचित्र विकास बोर्डको अध्यक्षका लागि नायक भुवन केसीले आवेदन दिएका छन्। सरकारले तोकेको १५ दिनको म्याद कट्नै लाग्दा केसीले बोर्ड अध्यक्षमा आवेदन दिएका हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागि वैशाख १६ मा सार्वजनिक सूचना जारी गरेको थियो। मंसिर ३० मा बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो।
न्यूनतम शैक्षिक योग्यताको प्रावधानै संशोधन गरेर जारी गरिएको सार्वजनिक सूचनामा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका नेपाली नागरिकलाई आवेदनका लागि आह्वान गरिएको थियो।
यसअगाडि योग्यतामा कम्तीमा स्नातक उत्तीर्ण गरी नेपाली चलचित्र उद्याेगकाे स्थापना, विकास, संरक्षण र प्रबर्द्धनमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने थियो। यस पटक प्रवीणता प्रमाण पत्र मात्र अध्ययन गरेको भए २० वर्षको अनुभव चाहिने उल्लेख छ। अध्यक्षको मूल्यांकन व्यवसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा गरिने सूचनामा उल्लेख थियो।
खुल्ला प्रतिस्पर्धाको आधारमा अध्यक्ष चयन गर्ने भनिए पनि बोर्डमा राजनीतिक आस्थाको आधारमा अध्यक्ष नियुक्त हुने गरेकाले केसीको सम्भावना बलियो नै देखिन्छ। उनी २०७४ को संसदीय निर्वाचनमा तत्कालिन एमालेको समानुपातिक सूचीमा थिए। उनी नेकपाका नेता माधवकुमार नेपाल निकट मानिन्छन्।
बोर्डका अध्यक्षमा दयाराम दाहाल लगायतकाहरु समेत आकांक्षी भने छन्। बोर्डको अध्यक्ष पदका लागि चलचित्र निर्माता अर्जुन कुमारले आवेदन दिएका थिए। अभिनेता राजेश हमालको नाम समेत चर्चामा रहे पनि उनी अहिले अध्यक्ष हुने दौडमा सहभागी भइसकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।