काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलिचित्र विकास बोर्डको अध्यक्षको रिक्त पदका लागि आवेदन माग गरेको छ। बोर्ड रिक्त भएको पाँच महिनापछि मन्त्रालयले खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्तिका लागि सूचना जारी गरेको हो।
मंसिर ३० मा बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो। मंगलबार जारी सार्वजनिक सूचनामा १५ दिनभित्र ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेका नेपाली नागरिकलाई आवेदनका लागि आव्हान गरिएको छ।
खुल्ला प्रतिस्पर्धाको आधारमा अध्यक्ष चयन गर्ने भनिए पनि बोर्डमा राजनीतिक आस्थाको आधारमा अध्यक्ष नियुक्त हुने गरेका छन्। यसपटक सूचना जारी गर्दा न्यूनतम शैक्षिक योग्यताको प्रावधानै संशोधन गरिएको छ।

यस अगाडि योग्यतामा कम्तीमा स्नातक उत्तीर्ण गरी नेपाली चलचित्र उद्याेगकाे स्थापना, विकास, संरक्षण र प्रवर्द्धनमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने थियो। यस पटक प्रवीणता प्रमाण पत्र मात्र अध्ययन गरेको भए २० वर्षको अनुभव चाहिने उल्लेख छ। अध्यक्षको मूल्यांकन व्यवसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा गरिने सूचनामा उल्लेख छ।
हाल बोर्डका अध्यक्ष दयाराम दाहाल अध्यक्षका बलिया दावेदार मानिन्छन्। बोर्डको अध्यक्षका रुपमा अभिनेता राजेश हमालको नाम समेत चर्चामा भने आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।