काठमाडाैं-नेपाली काँग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोना महामारीको समयमा ल्याएको बजेट पनि पुरातन शैलीको प्राथमिकता र सिद्धान्तमै आधारित भएको आरोप लगाएका छन्। कार्कीले सरकार 'जुरेलीको कथा झैं खुट्टा देख्दै चाल पाइयो' भने झैं सिद्धान्त हेर्दैमा बजेट कस्तो आउँदैछ भन्ने ज्ञान भएको बताए।
‘माथिल्लो तामोकोसी २ वर्षअघि बन्नुपर्ने थियो। त्यसबाट हुने आम्दानी गुमाएका छौं। बुढीगण्डकी र सेतीबाट पनि हामीले गुमाएका छौं’ उनले भने ‘मेलम्ची सपनामै सीमित भएको छ। यो गतिले नेपाल कहिले विकास हुनसक्छ ? कोरोनाको संकटसँग हामी कसरी जुध्न सक्छौं ? अहिले कोरोनालाई नजर अन्दाज गरिएको छ। ’
उनले विश्व अर्थतन्त्रकाे असरलाई बेवास्ता गरेर पुरानै शैलीमा बजेट ल्याउने तयारी गरेकाे देखिएको टिप्पणी गरे। यसले अर्थतन्त्र उठ्ने भन्दै उनले भ्रष्टाचार शून्यसहनशीलताको कुरा नसुहाएकोजस्तो भएको टिप्पणी गरे । ‘अर्थमन्त्रीले संसदमा पेश गरेको सिद्धान्त र प्राथमिकता जुरेलीकाे कथा झैं छ, ’ कार्कीले भने।
कार्कीले संसदमा सुनाएको जुरेलीकाे कथा यस्तो थियो- एउटा जुरेली परिवारमा बस्थ्याे । उ जवान भएपछि घुम्न गयो। घर फर्केर उसले गफ लगायाे-म सबैभन्दा अग्लो बाँसको झाङमा बसेँ र त्यो बास नुहियाे। परिरवारले उसकाे कुरा सुनेर भने-तिम्रा खुट्टा देख्दै पत्याएँ।
कार्कीले यसलाई अहिले ल्याएको बजेटका सिद्धान्तसँग जोडेर आलोचना गरे । अहिलेको प्राथमिकता कोरोनाको अवस्थाका कारण अर्थतन्त्र र स्वास्थ्य क्षेत्र सुधार गर्ने भएको भन्दै उनले सरकारकाेआलोचना गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।