मस्को– रसियाली क्लब सिएसकेए मस्कोलाई समग्रमा पराजित गर्दै आर्सनल युरोपा लिगको अन्तिम ४ मा प्रवेश गरेको छ। क्वार्टफाइनलको दोस्रो लेगअन्तर्गत गएराति मस्कोले घरेलु मैदान भिइबी एरिनामा २–२ को बराबरीमा रोकेपनि आर्सनललाई सेमिफाइनल प्रवेशका लागि भने बाधक बन्न सकेन।
जितसँगै आर्सनल सन् २००८/००९ सिजनपछि युरोपका कुनै पनि प्रतियोगिताको अन्तिम ४ मा पुगेको यो पहिलो अवसर हो। सो सिजनपछि युरोपा लिगको सेमिफाइनल पुग्ने आर्सनल पाचौँ युरोपेली टिमसमेत बनेको छ। यसअघि फुलह्याम(२००९/०१०), लिभरपुल(२००९/०१०) र (२०१५/०१६), चेल्सी(१०१२/०१३) र म्यानचेस्टर युनाइटेड(२०१६/०१७) युरोपा लिगको अन्तिम ४ मा पुग्न सफल भएका थिए।

घरेलु टिम मस्कोका लागि पहिलो ५० मिनेटभित्र फेडर चालोभ र किरिल नबाबकिनले एक–एक गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको ७५ मिनेटसम्म गोल गर्न नसकेको आर्सनलका लागि डेनी डेलब्याकले गोल गर्दै टिमलाई खेलमा फर्किने बाटो बनाए। उनले पहिलो लेगमा पनि २ गोलको योगदान गरेका थिए।
खेलको इन्ज्युरी समयमा आर्यन राम्सेले अर्को गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो लेगमा आर्सनलले ४–१ जित हात पारेकोले आर्सनल समग्रमा ६–३ ले विजयी भएको हो।

युरापा लिगमा आर्सनलसँगै एथ्लेटिको मड्रिड, मार्सेली तथा आरबी साल्जबर्गले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। गएराति नै क्वार्टरफाइनलअन्तर्गत भएका दोस्रो लेगको खेलपछि उनीहरु अन्तिम ४ टोलीभित्र पर्ने टुंगो लागेको हो।
एथ्लेटिको मड्रिड दोस्रो लेगमा १–० ले पराजित भएपनि स्पोर्टिङविरुद्ध समग्रमा २–१ विजयी भयो। मार्सेलीले आरबी लेइपजिगमाथि समग्रमा ५–३ को जित निकाल्यो। उता लाजियोमाथि दोस्रो लेगमा ४ गोल गरेको साल्जवर्ग समग्रमा ६–५ को जित दर्ता गर्दै अन्तिम ४ मा पुग्यो।
सेमिफाइनल खेलको ड्र आज स्विजरल्यान्डको न्योनमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।