काठमाडौं- संघीय संसदको नयाँ अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शुक्रबार बेलुकी ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेछ।
मन्त्रिपरिषद्को निर्णय अनुसार गत वैशाख २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन्।
कोरोना भाइरसको महामारीबाट उत्पन्न त्रासका कारण यसपटक अधिवेशन केही ढिला प्रारम्भ भएको हो। तर, जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधानका कारण अधिवेशन सुरु गर्नुपर्ने बाध्यता थियो। बजेटअघि नै सरकारको नीति तथा कार्यक्रम पनि पेश गर्नुपर्ने छ। साथै, प्रिबजेट छलफल पनि गर्नुपर्ने छ।
संसद बैठकमा कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि संसद सचिवालयले विभिन्न उपाय अपनाएको छ। सांसदहरु बस्ने कुर्सीहरुबीच अन्तर राख्ने, मास्क प्रयोग अनिवार्य गर्ने, ज्वरो नाप्ने,एकअर्काले बोल्ने बेला माइकलाई स्यानिटाइज गर्ने, साबुन पानीले हात धुने लगायतका थुप्रै उपाय अपनाइएका छन्।
त्यस्तै, हिजै सांसदहरुमा कोरोना संक्रमण भएको वा नभएको निर्क्यौल गर्न स्वाब संकलन गरिएको छ। संसद भवनको लोत्से हलमा हिजो १० बजेदेखि २ बजेसम्म चलेको स्वाब संकलनका क्रममा १ सय ७९ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रियसभाका सदस्य तथा २ सय २९ जना कर्मचारी तथा मर्यादापालकको गरी ४ सय ४१ जनाको स्वाब संकलन गरिएको छ।
हिजो छुटेका सांसदहरुको आज बिहान ८ बजेदेखि १० बजेसम्म स्वाब संकलन गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।