हैदरावाद- आइपिएल क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ।
मुम्बईले दिएको १ सय ४८ रनको लक्ष्य हैदरावादले अन्तिम बलमा ९ विकेटको क्षतिमा पार गर्दै रोमाञ्चक जित हात पारेको हो। आइपिएलमा हैदरावादको यो लगातार दोस्रो जित हो भने मुम्बईको लगातार दोस्रो हार हो।
अन्तिम ओभरमा हैदरावादको १ विकेट हातमा रहदा जितका लागि ११ रन चाहिएको थियो। यो स्थितिमा हैदरावादका दीपक हुडाले मुम्बईका बेन कटिङको पहिलो बलमा छक्का प्रहार गरेका थिए। दोस्रो बल बाइट हुँदा दीपकले त्यसपछि रन लिन सकेनन्। तेस्रो बलमा उनले एक रन लिएका थिए। चौथो बलमा बिली स्टानलाकेले १ रन लिए। पाँचौ बलमा दीपकले १ रन लिएपछि अन्तिम बलमा हैदरावादलाई जितका लागि १ रन नै चाहिएको थियो। स्ट्राइकमा रहेका बिलीले ४ रन प्रहार गरेपछि हैदरावादले १ विकेटको रोमाञ्चक जित हात पारेको हो। हुडा ३२ तथा बिलि ५ रनमा नटआउट रहे।
हैदरावादका लागि शिखर धवनले २८ बलमा ४५ रन जोडे। उनले ८ चौका प्रहार गरे। अर्का ओपनर ऋद्धिमान साहले २० बलमा २२ रन जोडे। कप्तान केन विलियमसन ६, मनिष पाण्डे ११, सकिब अल हसन १२ रनमा आउट हुँदा युसुफ पठानले १४ रन जोडे। रसिद खान र सिद्धान्त कौल शून्य रनमा आउट भए।
बलिङतर्फ मुम्बईका मंयक माकण्डेयले ४ विकेट लिए। उनले ४ ओभरमा २३ रन खर्चिए। मुस्ताफिजुर रहमानले ३ विकेट लिए। उनले १९ ओभरमा सिद्धान्त कौल र सन्दीप शर्मालाई आउट गरेका थिए। जसप्रित बुमराहले २ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रन बनायो। मुम्बईका लागि ओपनिङ ब्याट्सम्यान इभिन लेभिसले सर्वाधिक २९ रन जोडे। उनले १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर तथा कप्तान रोहित शर्मा ११ रनमा आउट भए। सूर्यकुमार यादव र केइरन पोलार्ड २८-२८ रनको योगदान दिए।
बलिङतर्फ हैदरावादका सन्दीप शर्मा, बिली स्टालाके र सिद्धान्त कौलले २-२ विकेट लिए। रसिद खान र सकिव अल हसनले १- १ विकेट हात पारे। रसिदले ४ ओभरमा १३ रन मात्र खर्चिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।