भैरहवा- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको गरेको लकडाउनको कार्यान्यवन गराउन र सीमा नाकामा आवातजावत रोक्न सुरक्षाकर्मीहरुले सक्रियता अपनाएका छन्।
अग्रपंक्तिमै रहेर अहिले सुरक्षाकर्मी सरकारको निर्णय कार्यान्वयनमा लागिपरेका छन्। लकडाउनको अवधिमा नागरिकलाई घरमै बस्न अनुरोध गर्दै प्रहरी सडक तथा सीमा नाकामा खटिएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पछिल्लो समय रुपन्देहीको सीमा क्षेत्रमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
बेलहियादेखि कपिलवस्तुको सीमा क्षेत्रसम्मको ६० किलोमिटर दुरीमा ८९ वटा अस्थायी चेकपोस्टमा एक हजार सशस्त्र प्रहरी परिचालन गरिएको छ। एउटा पोस्टबाट अर्को पोस्टसम्म मानिस आउजाउ गरेको देख्न सकिने गरी पोस्ट खडा गरी चौबीसै घण्टा ड्युटी गर्ने गरी प्रहरी तैनाथ गरिएको सशस्त्र प्रहरी बल २७ नम्बर गण सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले बताए।
त्यस्तै भारतसँग जोडिएको रुपन्देहीको रोहिणी गाउँपालिकाको बोधवारदेखि लुम्बिनी सांस्कृतिक नगरपालिकासम्म रहेको खुल्ला सिमानामा सशस्त्र प्रहरी खटिएको छ।
ठाउँठाउँमा टेन्ट र पाल टाँगेर अस्थायी पोस्ट बनाई २४ घण्टा सीमा सुरक्षामा प्रहरी तैनाथ रहेको सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मान बहादुर शाहीले जानकारी बताए।
दिनरात नभनी चर्को घाम र पानीको सामना गर्दै कोरोना भाइरसविरुद्ध सशस्त्र प्रहरीले निगरानी बढाएको सशस्त्र प्रहरी बल बिओपी पजरकट्टीका सशस्त्र प्रहरी निरीक्षक शुशिलबाबु पन्तले बताए। सरकारले दिएको जिम्मेवारी पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको समेत उनले बताए।
अहिलेको समयमा निकै चुनौतीपूर्ण रहेकोले नागरिकको सुरक्षामा कुनै पनि कमी हुन नदिने आफूहरु लागि परेको पन्तले बताए। ‘अहिलेको समयमा पानी र घामको सामाना गर्दै सीमा नाकामा कडा निगरानी राखेका र्छौ’, उनले भने।
सुरक्षाकर्मी आफ्नो जिम्मेवारीबाट पछि नहटी महामारीविरुद्ध लडिरहने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।