प्रिय मजदूर!
भोको पेटमा
आँसु पिएर
ठेला उठेका हातहरूले
मुठ्ठी कसेर
फुटेका कुर्कुच्चाहरू
बजारेर
बालबच्चाको रोदन
गुमसुम पारेर
श्रीमतीको वेदना
गुमनाम छाडेर
फाटेको कमिज
छोप्दै
पसिनाको दुर्गन्ध
रोक्दै,
मे दिवसको उपहार सम्झिएर
तिमी एकचोटी
सारा देशले सुन्ने गरी
पढिदेऊ प्रधानमन्त्रीज्यूको कविता!
अब तिम्ले आँसु खसाउनु पर्दैन रे!
अब तिम्ले रगत बगाउनु पर्दैन रे!
प्रिय मजदूर!
माफ गरिदिएर
ती हातहरूलाई
जस्ले
यिनै नेताहरूलाई
चुनावमा छानीछानी
भोट हालेका थिए,
माफ गरिदिएर
ती मगजहरूलाई
जो
यिनीहरुले केही राम्रो गरिहालान्
कि भनेर सोच्न विवश
भएका थिए,
माफ गरदिएर
ती नागरिकता र
मतदाता कार्डहरूलाई
जस्ले तिमीलाई
एउटा नागरिकभन्दा
बढ्ता मतदाता मात्र बनायो,
माफ गरिदिएर
तिम्ले भिरेका
हँसिया-हतौडा अंकित
क्याप टोपी र
चार तारा अंकित टिसर्टहरूलाई,
माफ गरिदिएर
हुकुमी शासनको
बफादारी गर्ने मजदूर संघहरूलाई,
तिमी दिल खोलेर पढिदेऊ
एकचोटी प्रधानमन्त्रीज्यूको कविता!
अब खेत बाझो रहदैन रे
तिमी परदेश जानु पर्दैन रे!
प्रिय मजदूर!
सहिदिएर
धर्मको वमन गराउने
होली वाइनहरुलाई,
ब्रह्मलुट मच्चाउने
यति र ओम्नीहरुलाई,
सहिदिएर
हातधुने बाहानामा
गरिबी बेच्ने
एनजिओहरूलाई,
सहिदिएर
देश लुट्नकै लागि
प्रयोग भएका
लोकतन्त्र, संघीयता र गणतन्त्रहरूलाई,
सहिदिएर
राहतको नाममा
सहिदको रगत
पुर्खाको बलिदान र
तिम्रो पसिना
बेच्ने हनुमानहरूलाई,
सहिदिएर
यो महामारीमा
गहिरिइएको
तिम्रो भोको पेट र
लम्बिएको पैदल दूरीहरूलाई,
सहिदिएर
प्रधानमन्त्रीज्यूका
कोरोनारूपी 'फ्याट्टीय' तत्त्वहरूलाई,
सहिदिएर
लकडाउनमा शकुनी खेल रच्ने
सिंहासनहरुलाई,
एकता भाड्न
सहीछाप लगाउने
शितलनिवासहरूलाई।
प्रिय मजदूर!
मुक्तकण्ठले गुणगान गाउदै एकचोटी पढिदेउ
तिमी प्रधानमन्त्रीज्यूको कविता!
साँच्चै
विकासको पथमा लम्किएको
गणतन्त्र हो रे, यो गणतन्त्र
जनतन्त्र हो रे, यो जनतन्त्र!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।