काठमाडौं- संसद्को बजेट अधिवेशन वैशाख २५ गतेदेखि सुरु हुँदैछ। कोरोना संकटको समयमा सुरु हुने संसद बैठक कोरोना भाइरसका विषयमा सजग भएर हुनेछ। संघीय संसद सचिवालयले यसका लागि तयारी गरिसकेको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए।
उनका अनुसार यसअघि जस्तो सांसदहरुको बसाइ एकसाथ हुनेछैन। सामाजिक दूरी कायम हुनेगरी सिट प्लानिङ गरिएको छ। बढीमा दुई र कम्तिमा एक कुर्सी बीचमा खाली हुनगरी सांसदहरु बस्नेछन्। पछाडिको खाली स्थानमा समेत कुर्सी व्यवस्थापन गरेर सांसदहरुबीच दूरी कायम गरिएको हो।
स्वास्थ्यका विज्ञलाई संसद भवन देखाएर सकेसम्म स्वास्थ्य मैत्री बनाउने प्रयास गरिएको छ। स्वास्थ्य विज्ञको सुझावअनुसार आवतजावत गर्ने बाटो फरक गरिएको छ। सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीको व्यवस्था गरिसकिएको छ।
संसद भवनमा स्वास्थ्यकर्मीको एउटा टिम रहनेछ। कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिने उक्त समूहले सघाउनेछ।
केही समयका लागि संसद भवनमा सांसदहरु मात्रै प्रवेश पाउनेछन्। यसअघि व्यवस्था गरिएको दर्शकदीर्घा र बोलाइने गरिएको कुटनीतिक क्षेत्रका व्यक्तित्वको प्रवेशलाई निरुत्साहित गर्न सकिने सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।