काठमाडौं– काठमाडौं गोल्डेन्स् धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो।
अब उपाधिका लागि काठमाडौंले भोलि धनगढी टिम चौराहासँग प्रतिस्पर्धा गर्नेछ। धनगढीले यसअघि पहिलो क्वालिफायरमा काठमाडौंलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
बिहीबार महेन्द्रनगरले दिएको १ सय ४३ रनको विजय लक्ष्य काठमाडौंले ५ विकेटको क्षतिमा १८.२ ओभरमा पार गर्यो।
काठमाडौंका लागि ओपनिङमा आएका सुबोथ भाटीले आक्रामक ब्याटिङ गरे। उनले १८ बलमा ५२ रन जोड्दा काठमाडौंले ६ ओभर नसकिदै ७० रन कटाएको थियो। भुवन कार्कीको बलमा आउट हुनुअघि भाटीले १८ बलमा ४ चौका र ५ छक्का हिर्काए। अर्का ओपनर अमित श्रेष्ठले १९ बलमा २६ रन जोडे। उनले ५ चौका प्रहार गरे। भुपेन्द्र थापा १५ रन तथा पुष्प थापा ९ रनमा आउट भए।
कप्तान ज्ञानेन्द्र मल्लले ३१ बलमा २५ रनको योगदान दिए। उनले १ चौका र १ छक्का प्रहार गरे। नरेश बुढाऐर ७ र सनी पटेल २ रनमा नटआउट रहे। बलिङतर्फ महेन्द्रनगरका पुनित मेहराले २ विकेट लिँदा रोबिन क्षेत्री, भुवन कार्की र पुनित विष्टले १-१ विकेट लिए।

त्यसअघि प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन जोड्यो।
५ ओभरमा मात्र १० रनको स्कोरमा महेन्द्रनगरले ६ विकेट गुमाउँद सुरुवातमै दबाबमा आएको थियो। सुरुवातै ६ विकेट नै काठमाडौँका सन्नी पटेल ६ विकेट लिएका। उनले पाँचौ ओभरमा ३ विकेट लिएका थिए।
तर आरिफ शेख र पुनित मेहराले महेन्द्रनगरको स्कोरलाई गति दिएका थिए। मेहराले ५८ तथा शेखले ४३ रन बनाए। दुईबीच सातौं विकेटका लागि ८५ रनको साझेदारी भएको थियो। मेहराले ४२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। आरिफले ३९ बलमा ४ चौका र १ छक्का हिर्काए। करण केसीले १२ बलमा दुई छक्कासहित २१ रन बनाए।

त्यसअघि कप्तान विनो भण्डारी, आसिफ शेख, हरिशंकर साह, रोहितकुमार पौडेल र भुवन कार्की शून्य रनमा आउट भएका थिए। पुनित विष्टले ७ रन मात्र जोड्न सके।
बलिङतर्फ कठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए। सुवोथ भाटी र पुष्प थापाले एक/एक विकेट लिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।