भैरहवा- शुक्रबार रुपन्देही र बाँकेको नेपालगञ्जका २ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्यो। रुपन्देहीका युवा कोटहीमाइका २५ वर्षीय हुन्। ५ बैसाखमा उनी भारतबाट नेपाल आएको खुलिसकेको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीबाट खटिएको स्वास्थ्य टोलीले बैसाख १७ गते नमुना संकलन गरी काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। उनको रिर्पोटमा कोरोना पोजेटिभ आएको हो।
बैसाख ५ मा यी युवा नेपाल प्रवेश गरेको मितिमा नेपाल र भारत दुवै देशमा लकडाउन थियो। लकडाउनकै बीचमा उनको नेपाल प्रवेश कसरी सहज भयो भन्ने विषयमा अहिले चर्चा हुन थालेको छ।
000
भारतको दिल्लीबाट आएका ती युवा रुपन्देही मर्चवारको सम्मरीमाई गाँउपालिका-२ ठोठरी नाकाबाट नेपाल प्रवेश गरेका थिए। दिल्लीको गान्धीनगरमा सिलाईकटाईको काम गर्दै आएका ती व्यक्ति १ बैसाखमा दिल्लीबाट हिँडेका थिए।
कोरोना संक्रमित ती युवाका परिवारका एक सदस्यले दिएको जानकारी अनुसार उनी दिल्लीबाट आउनेक्रममा कहिले ट्रकमा त कहिले हिँडेर नेपालको सीमासम्म आएका थिए। उनी बैसाख ५ गते को दिउँसो १ बजेतिर ठोठरी नाका आइपुगे। सिमानाका आईपुग्दा सुनसान देखिएपछि उनी सहजै नेपाल प्रवेश गरेका थिए।
घर पुग्नु अघि उनले स्थानीय एक जना र आफ्ना भाइलाई भेटेको ती सदस्यले जानकारी दिए। बाटोमा भाइलाई भेट्टाएका ती युवकलाई भाइले सिधै घरमा नलगी क्वारेन्टाइन लगेका थिए। दाइलाई क्वारेन्टाइनमा छाडेर भाई भने घर फर्किएका थिए।
दुवै देशमा लकडाउनका भएका बेला उनी सहजै नेपाल प्रवेश गरेपछि अहिले रुपन्देहीमा त्रासको वातावरण सिर्जना भएको छ। दक्षिणी क्षेत्र मर्चवारलगायत जिल्लाका आम नागरिकमा कोरोनाको पुष्टिले त्रास छाएको हो। यो घटनाले स्थानीयसँगै प्रहरी पनि झस्किएको छ।
000
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले ती व्यक्ति नेपाल प्रवेश गरेको मितिमा सीमा क्षेत्रमा प्रहरी निगरानी केही फितलो भएको स्वीकार गरे। उनले ५ गते सम्म छिटफुट रूपमा सीमा क्षेत्रबाट नागरिक प्रवेश गरेको बताए। त्यसपछिका दिनमा भने सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको दाबी उनको छ।
सिमा क्षेत्रमा सुरक्षा बढाउनुको विकल्प नभएको बताउँदै प्रहरीका साथै स्थानीय स्तरबाट पनि कडाई गर्नुपर्ने बताए। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ। एउटा प्रहरीले अर्को प्रहरी देख्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको रुपन्देही प्रहरीले जनाएको छ। उनले कोरोनाको पुष्टि भएका व्यक्तिको घर रहेको गाँउलाई कडा सुरक्षा निगरानीमा राखिएको बताए।
000
कोटहीमाईका ती व्यक्तिमा कोरोना पुष्टि भएपछि उनका परिवार र उनी भेट भएका साथीलाई क्वारेन्टाईन ल्याउन थालिएको छ। अहिले उनको घरमा रहेको ७ जना र उनले भेटेका साथीका श्रीमानश्रीमतीलाई क्वारेन्टाइन ल्याउन लागिएको कोटहीमाई गाँउपालिकाले जनाएको छ।
कोटहीमाई-५ स्थित मर्चवार आर्दश माविको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा अहिले २५ जना छन्। उनी क्वारेन्टाइनमा भर्ना हुँदा उक्त क्वारेन्टाईनमा ९ जना थिए। तीमध्ये ४ जना घर गएका छन्। उनको सम्पर्कमा रहेका सबैको शनिबार स्वाब परीक्षण गरिने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरिले जानकारी दिए।
कोरोना संक्रमित ती युवालाई अहिले बुटवल धागो कारखानामा कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसन बार्डमा राखेर उपचार थालिएको छ। उनको अवस्था सामान्य रहेको लुम्बिनी प्रादेशिक अस्पताले जनाएको छ।
प्रदेश सरकारले भारत तथा तेस्रो मुलुकबाट आएकाहरूको स्वाब परीक्षण गरिरहेको छ। बैसाख १७ मा उनीसँगै रहेका कोटहीमाइका क्वारेन्टाइनका अन्य ९ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।