काठमाडौं- काठमाडौंको बबरमहलमा रहेको सफ्टवेयर कम्पनी इ-ज्ञानकुन्ज एजुकेसन सिस्टम प्राइभेट लिमिटेडमा करीब १० लाख रुपैयाँ बराबरको ६३ कार्टुन पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सामग्री लुकाएर राखेको अवस्थामा भेटिएको छ। लुकाइएको सामान आँखु इन्टरप्राईजेज बालाजुको रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
विभागको बजार अनुगमन शाखा निर्देशक सागर मिश्रका अनुसार पञ्जा, चस्मालगायत लुकाएर राखिएका पिपिई सामग्रीको मूल्य ८ देखि १० लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ। ‘आँखु इन्टरप्राइजेजले एक ठाउँमा पसल र अर्को ठाउँमा सामान राखेको रहेछ। हामीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं,’ मिश्रले नेपाल लाइभसँग भने।
मेडिकल सामग्रीको आपूर्तिकर्ता कम्पनी आँखु इन्टरप्राइजेजले बढी मूल्यमा सामान बिक्री वितरण गरेको भन्दै विभागमा एउटा उजुरी आएकोे थियो। उजुरी आएपछि विभागले आँखु इन्टरप्राइजेजले चीनबाट ल्याएको ती सामानको तातोपानी नाकाबाटै ट्रयाकिङ थालेको थियो। ‘तातोपानीबाट सामान ल्याएर सप्लायरले कहाँ राखेको छ? कसलाई बेच्दैछ भनेर अनुसन्धान गर्दै जाँदा लुकाएर राखेको अवस्थामा भेटिएको हो,’ निर्देशक मिश्रले भने।
अनसन्धानका क्रममा पिपिई सामग्री लुकाई भण्डारण गरी बिक्री वितरण गरेको भेटिएपछि ती सामाग्रीहरु सोही ठाउँमा सिलबन्दी गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको हो।
लुकाएर राखिएको सामान विभागले सिलबन्दी गरेपछि आखुँ इन्टरप्राइजेजको एक जना प्रतिनिधिमात्रै विभागको सम्पर्कमा आएका छन्। शिक्षासम्बन्धी सफ्टवेयर बनाउने कम्पनी इ–ज्ञानकुन्ज र आँखु इन्टरप्राइजेजको सम्बन्धबारे भने विस्तृतमा जानकारी भइनसकेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।