काठमाडौं- नेपालको आर्थिक, सामाजिक क्षेत्रको विकासका लागि एसियाली विकास बैंक (एडिबी)ले सहयोग बढोत्तरी गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडासँग टेलिफोन वार्ता गर्दै बैंकका अध्यक्ष मासाचुगु आसाकाले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन्। अध्यक्ष आसाकाले आगामी दिनमा ऊर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवाप्रवाह जस्ता क्षेत्रमा थप लगानी गर्ने बारेमा जानकारी गराएका थिए।
कोभिड-१९ का कारण अर्थतन्त्रमा परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे टेलिफोनमा कुराकानी भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। कुराकानीका क्रममा अर्थमन्त्री डा खतिवडाले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो संक्रमण हुन नपाएको जानकारी बैंकलाई गराएका थिए।
कोरोना महामारीको असरलाई सम्बोधन गर्न बैंकले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र २५ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताका रुपमा प्रदान गर्न लागेकोमा धन्यवाद व्यक्त गरेका थिए।
एसियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड-१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। कोभिड –१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्न बैंकले थप लगानी गर्ने प्रतिबद्धता जनाएको पनि मन्त्रालयले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।