काठमाडौं- गत चैत ११ गतेबाट लागू भएको लकडाउन अवधिदेखि वैशाख १७ गतेसम्ममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपभोक्ताका १ हजारभन्दा बढी गुनासो दर्ता भएका छन्।
विभागले लकडाउन अवधिमै कार्यान्वयनमा ल्याएको उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली (सिआरएमआइएस) र टोल फ्री नम्बर ११३७ मा फोन गरी उपभोक्ताका एक हजारभन्दा बढी गुनासो आएका हुन्।
यो अवधिमा विभागले ९१ वटा व्यापारिक फार्ममा अनुगमन गरिएको छ भने अनुगमनपछि कारबाहीमा परेका व्यापारीक फार्मबाट ४७ लाख ७५ हजार रुपैयाँ बराबर जरिवाना तिराइएको छ। कारबाहीमा पर्नेमा ३ दर्जनभन्दा बढी मेडिकल तथा औषधि पसल छन भने खाद्यान्न स्टोर र ग्यास बिक्रेताको संख्या पनि धेरै देखिएको छ।
लकडाउनका बेला सबैभन्दा बढी ग्यास अभावका ४ सय ८२ वटा गुनासो विभागमा दर्ता भएका छन्। त्यस्तै खाद्य सामग्री अभावका १ सय २० वटा, बढी मूल्यमा सामान बेचेका ७२ वटा, अन्य सरसामग्रीको अभावका ५७ वटा, इन्टरनेट स्लो चलेका ५७ वटा र बाँकी अन्य गुनासो छन्। विभागमा आएका १ हजार बढी गुनासोमा करीब ७० प्रतिशत अर्थात् ७ सय हाराहारी गुनासो सुनुवाई भइसकेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।