म्याड्रिड- स्पेनिस महारथी क्लब रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगमा नाटकीय रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार विहान सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा खेलमा इटालियन क्लब युभेन्ट्ससँग ३-१ गोलले पराजित हुनुका बावजुद रियलले समग्रमा ४-३ गोलले अघि रहदै अन्तिम चारमा स्थान पक्का गरेको हो। यसअघि पहिलो लेगमा रियलले युभेन्ट्सलाई उसैको घरेलु मैदानमा ३-० गोलले पराजित गरेको थियो।
दोस्रो खेलमा घरेलु मैदानमा भएको खेलमा रियल ९० मिनेटसम्मा ३-० गोलले पछि पर्दा खेल अतिरिक्त समयतर्फ धकेलिन लागेको थियो। तर इन्जुरी टाइमको सातौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेर युभेन्टसको अग्रता ३-१ मा झारेका थिए। रोनाल्डोको यो गोल नै रियलका लागि अन्तिम चारमा पुग्न पर्याप्त बन्यो। युभेन्ट्सका मेधी बेनाटियाले रियलका लुकास भाक्युलाई डिबक्स भित्र लडाएपछि रियलले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टीमा रोनाल्डो चुकेनन् र रियललाई अन्तिम चारमा पुर्याए। पेनाल्टी दिएपछि युभेन्ट्सका कप्तान तथा गोलकिपर बुफोन गाली गलौजमा उत्रिएपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए।

त्यसअघि युभेन्टसका लागि मारियो मान्जुकिकले दोस्रो र ३७ मिनेटमा मिनेटमा गोल गरेका थिए। माटुडीले ६० मिनेटमा अर्को गोल थपेपछि युभेन्ट्स ३-० गोलले अघि बढ्दा खेल रोमाञ्चक बनेको थियो। यद्यपी अन्तिम समयमा रियलले पेनाल्टी पाउँदा युभेन्ट्सको उत्कृष्ट पुनरागमन काम लागेन ।

यता लिगको अर्को खेलमा जर्मन क्लब वायर्न म्युनिखले पनि अन्तिम चारमा स्थान बनाएको छ। वार्यनले स्पेनिस क्लब सेभिल्लालाई २-१ गोलले पछि पारेर अन्तिम चारमा स्थान बनाएको हो। बिहीबार विहान सम्पन्न दोस्रो लेग गोलरहित बराबरीमा सकियो। पहिलो लेगमा वायर्न २-१ ले विजयी भएको थियो।
योसँगै च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने चार टिमकै टुंगो लागेको छ। जसमा इंग्लिस क्लब लिभरपुल, इटालियन क्लब रोमा, स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब वायर्न म्यूनिख रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।