नयाँ दिल्ली- बलिउड गायिका कनिका कपुरले आफू कोरोना भाइरस बिरामीको उपचारका लागि प्लाज्मा दिन तयार रहेको बताएकी छन्। उनी गत महिना कोरोना भाइरस जितेर घर फर्केकी थिइन्।
उनको यो घोषणापछि प्लाज्मा लिनका लागि परीक्षण गर्न लखनउस्थित बेजीएमयू अस्पतालका डाक्टरहरुले उनको निवास जाने भएका छन्।
यो परिक्षणपछि मात्र उनले प्जाज्मा दिन पाउने वा नपाउने निर्णय हुनेछ। यो परीक्षण सफल भएमा मात्र उनले प्लाज्मा दिनेछिन्। बुधबार वा बिहीबार उनको प्लाज्मा लिइनेछ। सोमबार डाक्टरहरुले उनको मेडिकल टेष्ट गरेका छन्।
त्यस्तै कनिकाविरुद्ध दायर भएको उजुरीमा प्रहरीले उनलाई नोटिस पठाएको छ। युपी प्रहरीले उनलाई बयान दिन बोलाएको हो। ३० अप्रिल ११ बजे उनको बयान हुने प्रहरीले जनाएको छ। प्रहरी अधिकारीले अनुसन्धानमा कनिकाले सहयोग गरेकाले सहज भइरहेको बताएका छन्।
लन्डनबाट फर्केकी उनमा कोरोना पोजेटिभ देखिएको थियो। लन्डनबाट फर्केर उनी आइसोलेसनमा बस्नुको सट्टा कार्यक्रम गर्दै भिआइपी र भिभिआइपी पार्टीमा सहभागी भएका थिइन्। उनलाई कोरोना देखिएपछि उनीसँग भेट भएका भिआइपी र अन्यले आफूलाई क्वारेनटाइनमा राखेका थिए। कोरोना भाइरससँग लापरवाह गरेको भन्दै प्रहरीले उनीविरुद्ध एफआइआर दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।