काठमाडाैं- न्युजिल्याण्ड सरकारले देशमा कोरोना भाइरसको कम्युनिटी ट्रान्समिसन समाप्त भएको दाबी गरेको छ। राज्यको प्रभावकारी नीतिका कारण भाइरस समाप्त गर्न सफल भएको उसकाे दाबी छ।
पछिल्ला केही दिनमा न्युजिल्याण्डमा फाट्टफुट्ट रुपमामात्र कोरोना भाइरस संक्रमणका घटना देखिएका छन्। आइतबार एकजना मात्र संक्रमित थपिएका छन्। न्युजिल्याण्डमा हालसम्म १,४६९ संक्रमित फेला परेका छन् भने १९ जनाले मात्र ज्यान गुमाएका छन्।
न्युजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा अर्डर्नले देशले कोरोना भाइरसको युद्ध जितको घोषणा गरेकी छन्। प्रधानमन्त्रीको घोषणाअघि सामाजिक प्रतिबन्धमा केही खुकुलो पारिएको थियो। मंगलबारदेखि केही गैर जरुरी ब्यापार, हेल्थकेयर र शिक्षा क्षेत्रको गतिविधि सुरु गर्ने तयारी भएकाे थियाे। तर, अधिकारीहरुले मानिसहरुलाई अहिले पनि घरभित्रै रहन र सामाजिक दूरी कायम गर्न भनेका छन्।
प्रतिबन्ध पूर्णरुपमा समाप्त छैन
प्रधानमन्त्री अर्डर्नले नियमित पत्रकार सम्मेलनमा अब अर्थव्यवस्था चलायमान गराउने केही प्रतिबन्ध खुल्ला गर्ने बताइन्। ‘केही प्रतिबन्धमात्र खोलिएको हो, तर मानिसहरुले सामाजिक दूरी कायम गर्ने र अन्य प्रतिबन्ध भने समाप्त हुँदैन,’ प्रधानमन्त्री अर्डर्नले भनिन्।
न्युजिल्याण्डको स्वास्थ्य मामला महानिर्देशक एशले ब्लुमफिल्डले केही दिनयता संक्रमितको संख्यामा आएको नियन्त्रणले केही आशा जगाएको बताए। उनले पनि अब लक्ष्य पुरा गर्ने तर्फ अघि बढ्दै गएको दाबी गरे। कोरोना भाइरस समाप्त भएको घोषणाको अर्थ संक्रमितकाे संख्या फेरि नदेखिने प्रधानमन्त्री आर्डर्न र ब्लुमफिल्डले स्पष्ट पारेका छन्। अब एकदमै कम मात्र संक्रमित फेला पर्ने भएकाले सरकारले यस विरुद्ध प्रभावकारी रुपमा नियन्त्रण गर्न सक्ने दाबी उनीहरुले गरेका हुन्।
‘न्युजिल्याण्डमा व्यापकमात्रामा कम्युनिटी ट्रान्समिसनका कुनै पनि घटना आएका छैनन्,’ प्रधानमन्त्री आर्डर्नले भनिन्, ‘हामीले अहिले यो महामारीको युद्ध जितेका छौं, तर अझै सतर्क रहने आवश्यकता छ।’
समयमै कडा कदम
न्युजिल्याड सरकारले कोरोना भाइरस सुरु भए लगत्तै कडा कदम चालेको थियो। सरकारले यातायातमा कडा प्रतिबन्ध लगाएको थियो। यस्तै सीमाहरु पनि छिट्टै बन्द गरिएको थियो।
जो व्यक्तिमा देशमा प्रवेश गरेकाहरुमा कोरोना पोजेटिभ देखियो भने क्वारेन्टाइनमा पठाएको थियो। साथै लकडाउन पनि कडाइका साथ लागू गरिको थियो। व्यापक रुपमा कोरोना परीक्षण र ट्रेसिङ गरिको थियो। प्रधानमन्त्री आर्डर्नले समयमै लक डाउन घोषणा नगरेको भए अहिले प्रत्येक दिन हजारभन्दा धेरै संख्यामा बिरामी थपिने अवस्था हुने सम्भावना रहेकाे बताइन्।
‘समयमा हामी सचेत हुन नसकेको भए अहिले देश खराव अवस्थामा हुन्थ्यो हामी भन्न सक्दैनौं,’ प्रधानमन्त्री आर्डर्नले भनिन्, ‘तर हामीले चालेको कडा र प्रभावकारी कदमले उक्त अवस्थामा पुग्न दिएन।’
सोमबार मध्यरात्रिबाट लागू हुने गरी न्युजिल्याण्ड सरकारले लकडाउन लेभल ४ वाट लेभल ३ मा ल्याउने घोषणा गरेको छ। अब त्यहाँ धेरै व्यवसायिक गतिविधि सुरु हुने छन्। यसमा रेष्टुरेन्ट पनि पर्ने छ। रेष्टुरेन्टले केवल डेलिभरीको मात्र अनुमति पाउने छ। मानिसले सामाजिक दूरी कायम राख्नका लागि रेष्टुरेन्टलाई होम डेलिभरीको अधिकार मात्र दिइएको छ।
समूहमा भेला हुन भने अहिले पनि रोक लगाइएको छ। सपिङ मलहरु बन्द रहेका छन् भने विद्यालयमा कममात्र विद्यार्थी स्कुल जाने छन्। न्युजिल्याण्डले सीमाहरु अझै पनि बन्द नै राख्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।