नयाँ दिल्ली- भारतमा गएको २४ घन्टामा एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २६ हजार ९१७ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
भारतमा देखिएका संक्रमितहरूमध्ये ५ हजार ९१३ जना भने उपचारपछि निको भएर फर्किएका छन्। मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २० हजार १७७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन्।
कोरोना भाइरसको अत्यधिक संक्रमणको कारण सार्वजनिक यातायात, विद्यालय, कलेज र शपिंग मललगायत सबै सेवाहरू बन्द गरिएको छ। पछिल्ला केही दिनहरुमा केन्द्रीय सरकारले बिस्तारै बन्देजहरु सहज गरिरहेको छ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेकाे २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्थामा पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए।
(रासस-एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।