बेइजिङ- चीनको सबैभन्दा बढी प्रभावित वुहान सहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड-१९ सङ्क्रमित व्यक्ति उपचारपछि आइतबार घर फर्किएका छन्।
दिङ थरका ७७ वर्षीय पुरूष चीनको मध्य क्षेत्र हुबेईको राजधानी वुहानमा कोभिड–१९ को सङ्क्रमणपछि निको भएर घर फर्किने सबैभन्दा पछिल्लो व्यक्ति भएका छन्। दिङको दोस्रो परीक्षणको रिपोर्टमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि उनलाई आइतबार घर पठाइएको वुहान नगर स्वास्थ्य आयोगका अधिकारीले बताएका छन्।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फङले बेइजिङमा पत्रकार सम्मेलनमा भने, ‘वुहानले कोरोना भाइरसविरूद्धको लडाईंमा सफलता पाउनुमा वुहान तथा देशका विभिन्न भागबाट त्यहाँ रहेर बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी तथा अन्य सेवामा खटिने चिनियाँहरूको कडा परिश्रम नै महत्वपूर्ण थियो।’
आइतबारको घोषणा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चिनियाँ शहर वुहानको लागि महत्वपूर्ण क्षण बनेको छ।
चीनको वुहानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या दुई अङ्कमा झरेको लगातार पाँच दिनपछि र हुबेईमा सबैभन्दा बढी दैनिक ५० हजार ६ सय ३३ बिरामी र वुहानमा ३८ हजार २० बिरामीलाई सेवा दिएको ७० दिनपछि राष्ट्रिय स्वास्थ्य आयोगको उक्त घोषणा आएको हो।
यही दिनको प्रतिक्षामा थियौं ः चिकित्सक
सघन सेवा कक्षका चिकित्सक साङ यूले भने, ‘कोरोना भाइरसमुक्त घोषणा भएको यो दिन वुहानबासी (चिनियाँ) का लागि ऐतिहासिक बनेको छ।’ उनले थपे, ‘हामीले यो दिनको प्रतिक्षा लामो समयदेखि गरिरहेका थियौं।’
शनिबारको अन्त्यसम्ममा वुहानमा ५० हजार ३ सय ३३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ। सङ्क्रमितमध्ये निको भएर फर्किनेको सङ्ख्या वुहानमा ९२.३ प्रतिशत रहेको बताइएको छ।
हुबेइमा विगत २० दिनयता नयाँ सङ्क्रमित व्यक्ति नभेटिएको र हुबेईमा बाँकी ५० जना कोभिड-१९ सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन्।
आइतबारसम्म मुख्यभूमि चीनमा ८२ हजार ८ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने चीनभरमा ८ सय १ जना बिरामीको उपचार भइरहेको छ। राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा ७७ हजार ३ सय ९४ सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।