श्रीनगर- भारतको काश्मिर क्षेत्रका बालबालिकालाई रेडियोमार्फत् अध्यापन गराइने भएको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन गरेकाले उनीहरुलाई रेडियोमार्फत् अध्यापन गराउनु परेको हो।
भारतले देशव्यापी लकडाउनको घोषणा गरेदेखि नै भारतका सबैजसो विद्यालय बन्द रहेकाले बालबालिकाहरु अध्ययनबाट वञ्चित भएका छन्।
अत्याधिक धेरै विद्यार्थीहरु माझ एकैचोटी पुग्ने सजिलो र प्रभावकारी माध्यम नै रेडियो भएकाले रेडियोमार्फत् अध्यापन गराउन लागिएको अधिकारीहरुले जनाएका छन्।
भारतको विद्यालय शिक्षा विभागले अर्को हप्तादेखि यसकाे तयारी थालिएको जनाएको छ। अधिकारीहरुका अनुसार शिक्षकले अल इन्डिया रेडियोमार्फत् अध्यापन गराउने छन् भने तोकिएको समयका विद्यार्थीहरुले घरमै बसेर पढ्न सक्नेछन्।
काश्मिरको विद्यालय शिक्षा निर्देशनालयले यसअघि गत मार्च २६ देखि नै दूरसञ्चार केन्द्रको काश्मिर च्यानलमार्फत् पनि अध्यापन गराउँदै आएको छ।
तर कतिपय विद्यार्थीहरु टेलिभिजनको पहुँचमा नभएकाले उनीहरुलाई समेत हुनेगरी रेडियोमार्फत् पनि अध्यापन गराउनु परेको हो।
निर्देशनालयले तयार पारेका शैक्षिक सामग्रीहरु रेडियो, टेलिभिजनसँगै युट्युब, निर्देशनालयको वेभसाइटलगायत विभिन्न विद्युतीय माध्यमहरुबाट पनि विद्यार्थीहरुसम्म पुर्याउने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन्।
काश्मिरका विद्यालय शिक्षा निर्देशक मोहम्मद युनिस मलिकले लकडाउन जति लम्बिदै गएपनि विद्यार्थीहरु पठनपाठनबाट पूर्ण रुपमा वञ्चित हुन नपरोस् भनेर पर्याप्त शैक्षिक सामग्रीहरु तयार पारेर विद्यार्थीहरुको पहुँचमा पुर्याउन अनेक उपायहरु गरिएको बताए।
लकडाउनमा भएका बेला विद्यार्थीहरुले पढ्ने सामग्रीको अभाव नहोस् भनेर नै यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।
भारतको जम्मु र कश्मिर राज्यमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४ सय ९४ पुगेको छ भने तीमध्ये ६ जनाको मृत्यु भएको छ। त्यसैगरी अरु १ सय १२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसका कारण देशभरी मृत्यु हुनेको संख्या ८ सय २५ पुगेको छ। त्यसैगरी कुल सङ्क्रमितको संख्या २६ हजार ४ सय ९६ पुगेको छ। कुल सङ्क्रमितमध्ये २ सय १३ जना पछिल्लो २४ घण्टामा सङ्क्रणको पुष्टि भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।