एजेन्सी-पाकिस्तानमा लागू गरिएको लकडाउनको अवधि थप गरिएको छ। कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन्।
पाकिस्तानी सरकारले आगामी मे ९ तारिखसम्मका लागि लकडाउन लागू भइरहने घोषणा शुक्रबार गरेको हो। केन्द्रीय योजना तथा विकास मन्त्री असद उमराले राष्ट्रिय नियन्त्रण केन्द्रले लकडाउनको अवधि बढाउने निर्णय गरेको जानकारी दिए।
पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११ हजारभन्दा बढी भएको छ। सरकारी अधिकारीहरुका अनुसार संक्रमित हुनेहरुको कुल संख्या ११ हजार ६ सय ५२ रहेको छ।
त्यसैगरी देशभरि कोरोना भाइरसका कारण २ सय ४२ भन्दा बढीको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन्।
कोरोना भाइरसबाट सबैभन्दा धेरै पञ्जाब प्रान्त प्रभावित भएको छ। त्यहाँ ४ हजार ८ सय ५१ जना सङ्क्रमित भेटिएका छन्। महामारी विरुद्धका कतिपय मापदण्डहरुलाई कतिपय व्यक्तिहरुले बेवास्ता गरेको पाइएको छ।
शनिबारदेखि मुस्लिम धर्मावलम्बीहरुको एक महिने रमजान पर्वसमेत सुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।