भैरहवा- भारतीय क्वारेन्टाइनमा रहेका थप ११२ नेपाली नेपाल फर्केका छन्। विगत २५ दिनदेखि भारतीय क्वारेन्टाइनमा रहेका उनीहरु शनिबार रुपन्देहीस्थित बेलहिया नाका हुँदै नेपाल फर्केका हुन्।
भारतका विभिन्न स्थानमा काम गरिरहेका उनीहरु लकडाउनकाे अवधिमै नेपाल आउन खोजेपछि भारतको नौतनवाका तीन स्थानमा क्वारेन्टाइनमा राखिएको थियो। भारतीय क्वारेन्टाइनमा ३ सय ३५ नेपाली थिए। पहिलो चरणमा शुक्रबार १ सय जनालाई भारतबाट नेपाल भित्र्याइएको थियाे।
आज अर्घाखाँची, गुल्मी, पाल्पालगायत जिल्लाका ११२ जना नेपाल फर्केको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्कबहादुर खत्रीले बताए। प्रदेश ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले ३ चरणमा गरी उनीहरुलाई नेपाल भित्र्याइने बताए। नेपालीहरु स्वदेश फर्कने वातावरण सिर्जना हुनु राम्रो कार्य भएको पाण्डेयले बताए।
उनीहरुलाई सीमा नाकामा आरडिटी प्रविधिबाट काेराेना परीक्षण गरेर मात्र नेपाल प्रवेश गराइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए। क्वारेन्टाइनमा रहेका सबैलाई एकैपटक ल्याएर परीक्षण गर्न कठिन हुने भएपछि उनीहरुलाई तीन चरणमा नेपाल ल्याउन थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए।
बाँकी रहेका नेपालीहरु पनि शनिबार नै नेपाल फर्किने प्रजिअ पन्थले जानकारी दिए। तर ३० मार्च पश्चात भारतीय क्वारेन्टाइनमा रहेका अन्य नेपालीहरु भने अहिले नफर्किने उनले बताए।
भारतमा रहेका नेपालीहरुलाई १४ दिनको क्वारेन्टाइनमा राख्ने भनिएको थियो। १४ दिनको अवधि पुगे पनि उनीहरुलाई नेपाल आउन नदिएपछि नेपालीहरु आक्रोशित भएको थिए। दुई देशको जिल्ला प्रमुखहरु तथा प्रदेशसभा सांसद पाण्डेयको समन्वयमा नेपालीहरु पहिलाे चरणमा शुक्रबार नेपाल फर्किएका थिए।
नेपाल आएका नेपालीहरुलाई सिद्धार्थनगर नगरपालिकामार्फत् बेलहियाका युवाहरुले खाना खुवाएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।