काठमाडाैं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बारेमा दिएको नयाँ सल्लाहप्रति चिकित्सकहरुले कडा आपत्ति जनाएका छन्।
ट्रम्पले दैनिक कोरोना ब्रिफिङका क्रममा अल्ट्राभाइलेट लाइटमार्फत् कोरोनाका रोगीको उपचार गर्न सकिने बताएका थिए। त्यस्तै उनले शरीरमा रोगाणुनाशककाे इन्जेक्सनले कोरोनाकाे उपचार हुन सक्ने बारे अनुसन्धान हुनुपर्ने बताएका थिए। यसअघि पनि ट्रम्पले गलत औषधिको सिफारिस गरेका थिए।
लगातार गलत सल्लाह दिँदै आएपछि डाक्टरहरुले राष्ट्रपतिको भनाइमा आपत्ति जनाएका हुन्। ट्रम्मको उक्त भनाइ प्रेस ब्रिफ्रिङकै क्रममा डाक्टरहरुले गलत भएको भन्दै खारेज गरेका थिए। राष्ट्रपति ट्रम्पले आफ्नो पब्लिक हेल्थ एजेन्सीलाई ब्लीचको औषधिको रुपमा प्रयोग गर्न यसअघि नै दबाब दिएका थिए। तर उनीहरुले यो असम्भव भएको भन्दै अस्वीकार गरेका थिए।
डाक्टरहरुले ट्रम्पको यो आइडियाले थप विनाशकारी नतिजा ल्याउने चेतावनी दिएका छन्। पल्मोनोजिलिष्ट डा. बिन गुप्ताले कुनै पनि तरिकाले क्लिन्जिंग प्रोडक्टलाई शरीमा इन्जेक्ट गर्ने धारणा गैरजिम्मेवार भएको र यसको परिणाम खतरनाक हुने बताए। ‘यदि कोही मानिस आफै मर्न चाहान्छ भने यो तरिका ठीक हुन्छ,’ उनले भने।
वेष्ट भर्जिनियाको चार्लेस्टरका डा. कासिफ महमुदले ट्विटरमा लेखेका छन् ‘एक फिजिसियनको नाताले म कसैको फाेक्साेमा रोगाणुनाशक इन्जेक्ट गर्ने सल्लाह दिन सक्दिन, त्यस्तै कोरोना भाइरसको उपचारका लागि पनि अल्ट्राभाइलेट रेडिएसनको प्रयोग गर्ने सल्लाह पनि दिन सक्दिन।’ उनले राष्ट्रपति ट्रम्पसँग कुनै पनि डाक्टरी सल्लाह नलिन सबैलाई सुझाव दिए।
जकरबर्ग सैन फ्रासिस्को जनरल अस्पतालका एक पल्मोनोलोजिस्ट जोन बाम्सले चेतावनी दिएका छन् ‘यो एकदमै खतरानक छ। यो बेकारको कुरा हो।’
अमेरिकामा ५० हजार मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। ९ लाख बढी मानिस संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।