काठमाडाैं- राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकोप्रति तत्कालीन राजपाका नेता शरत सिंह भण्डारीले व्यंग्यात्मक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।
तत्कालीन राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक तथा नयाँ बनेको जनता समाजवादी पार्टीका नेता भण्डारीले प्रधानमन्त्री ओलीले छलफलमा मात्र रहेका आफूहरुलाई मिलाउन अध्यादेश ल्याइदिएकाले आभारी भएको बताए। बिहीबार बिहान कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयमा दल दर्ता गर्न पुगेका भण्डारीले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले पार्टी फुटाउने भनेर अध्यादेश ल्याएको तर आफूहरू जुटेको बताए।
‘उहाँले पार्टी फुटाउन अध्यादेश ल्याउनुभएको थियो। हामी जुट्यौं,’ भण्डारीले भने, ‘धन्यवाद प्रधानमन्त्रीज्यू।’
तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।