दुई सयभन्दा बढी देशमा फैलिएको कोरोना भाइरस महामारीले संसारलाई नै त्रसित बनाएको छ। यो अवस्था कहिलेसम्म कायम रहन्छ, कुनै निश्चित छैन।
संसारभरि नै हरेक मानिसको जीवन र जनजीविकाका लागि त्रासमय वातावरण बनेको छ र थुप्रै चुनौती दिनानुदिन थपिँदै गएको आभाष हुँदैछ। हप्तौंको लकडाउनले घरभित्रै खुम्चिएको छ जीवन।
सामाजिक दुरीको अभ्यासमा कैद छन् सामाजिक, आर्थिक गतिविधिहरु। र, आशंका, अनुमान, अपेक्षा र आशाका बीच गुज्रिरहेको छ आजको समय।
हाम्रा लागि स्वास्थ्यको पाटो जति महत्वपूर्ण छ त्यत्तिकै महत्वपूर्ण सामाजिक र आर्थिक पक्ष पनि हो। आशा र प्रार्थना गरौं कोरोनाविरुद्धको भ्याक्सिन वा एन्टीव्याक्टेरियल औषधि छिट्टै बजारमा आओस्। किनभने यो अवस्था नआएसम्म मानिसहरुको मनोबल बढ्ने छैन, सामाजिक आर्थिक गतिविधिमा सक्रिय हुनका लागि।
तथापि विश्वास गर्न सकिन्छ कि केही हप्तामा लकडाउन खुकुलो हुँदै जानेछ। केही महिनामा आन्तरिक र क्षेत्रीयरुपमा आवतजावत सुरु हुने छ।
सबैभन्दा बढी र प्रत्यक्ष असर यसले पर्यटन उद्योगमा पारेको छ। जुन एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा र त्यतिखेर गरिने गतिविधिहरुले सृजित हुने अर्थतन्त्र हो। पर्यटनमा सेवा दिंदै व्यवसाय गर्ने होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ, एयरलाइन्स, रेस्टुरेन्टमा हेर्दा करिब १ खर्ब ६० अर्ब जतिको आय पर्यटन क्षेत्रले गुमाउने अनुमान गरिएको छ।
यिनै क्षेत्रमा सेवा दिइरहेका १० लाखभन्दा बढी जनशक्तिको रोजगारमा पनि संकट आएको छ।
खबौंको लगानी रहेको पर्यटन उद्योगमा स्थिर सरकार, देशमा बढ्दो विकासवादी मानसिकता, २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित अघि बढाईएको भ्रमण वर्ष २०२० अभियान, बढ्दो पूर्वाधारको अवस्थाले यस क्षेत्रलाई निकै उत्साहित बनाएको थियो र ठूलो मात्रामा उत्साहपूर्ण रुपमा लगानी पनि बढिरहेको थियो।
यसैबीच अनपेक्षित रुपले कोरोना भाइरसको महामारी आयो। हरेक संकटको एउटा आयू हुन्छ। कोरोनाभाइरस महाप्रकोपको पनि छ। त्यसैले आउने सिजनबाट पर्यटन पुनरुत्थान गराउन सकिनेमा आशावादी हुँदै केही काम अहिले नै सुरु गर्न सकिन्छ। सुरुवात यस क्षेत्रमा सक्रिय मुख्यतः सरोकारवाला निकायहरुबाट हुनुपर्छ। संकटबाट छिट्टै पुनरुत्थान हुने मन्त्र चार ‘स’ को प्रभावकारितामा आधारित छ। त्यो भनेको प्रभावकारी समन्वय, प्रभावकारी सहकार्य, प्रभावकारी सक्रियता र प्रभावकारी सञ्चार नै हो।
यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मुख्य समन्वयमा सरकारी क्षेत्र, निजी क्षेत्र, प्रादेशिक तथा स्थानीय सरकार, कूटनीतिक नियोगहरु तथा अन्य मुख्य सरोकारवालाबीच सहकार्य तत्काल सुरु हुन आवश्यक छ।
नेपालको पर्यटन उद्योगमा निजी क्षेत्र जेष्ठता, अनुभव, विज्ञता, नेटवर्क, र स्रोतका हिसाबले सरकारी क्षेत्रभन्दा निकै बलियो र व्यापक छ। त्यसैगरी करीब २० वर्षदेखि कार्य सञ्चालनमा ल्याइएको नेपाल पर्यटन बोर्डको विशेषज्ञता र टिम पनि आज ज्ञान र स्रोतका हिसाबले सबल छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र यसअन्तर्गतका नागरिक उड्डयन प्राधिकरण र नेपाल वायूसेवा निगम, पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान लगायतका संस्थाहरु को भूमिका पनि महत्वपूर्ण रहन्छ। पर्यटन उद्योगलाई थप ऊर्जा दिँंदै छिटो पुनरुत्थान गर्नका लागि यसमा सरोकार राख्ने सबै निकायसँग सबैको सहकार्य र समन्वय आवश्यक हुन्छ।
यसका साथै अन्य निकायहरु जस्तै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, अध्यागमन विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रकृति संरक्षण कोषजस्ता निकायसंग पनि समन्वय अति आवश्यक हुन्छ। यसै सन्दर्भमा निम्न बमोजिमका मुख्य निकायहरुबाट तत्कालका लागि केही कार्यहरु अघि बढाउन सकियो भने पर्यटन क्षेत्रको पुनरुत्थान छिट्टै गर्न सकिने छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट :
१) पर्यटन पुनरुत्थानका लागि निजी क्षेत्रका ९ जना सम्मको क्षेत्रगत प्रतिनिधित्व हुने गरी विज्ञहरुको एक पुनरुत्थान समिति बनाई टीओआरसहितको जिम्मेवारी दिने। जसले सरकार, मन्न्त्रालय तथा मातहतका निकायका लागि थिंकट्यांकको काम पनि गर्नेछ र पर्यटन रिभाइभलको योजना तथा कार्यक्रम तय गरी समन्वयकारी भूमिका खेल्नेछ।
२) विश्व बजारमा सकारात्मक सन्देश जाने खालका चारवटा काम गर्न र गराउन नेतृत्वदायी भूमिका खेल्ने।
क) पर्यटन विभाग, पर्यटन बोर्ड, राष्ट्रिय निकुन्ज विभाग, नेपाल पर्वतारोहण संघ, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, नेपाली सेनालगायत अन्य स्थानीय सरकार एवं गैरसरकारी संस्थाहरुसँगको समन्वयमा हिमालहरुको सफाइ, , सबै निकुन्ज तथा संरक्षण क्षेत्रहरुलाई प्लास्टिकमुक्त क्षेत्र, र सबै मुख्य पदयात्राहरुमा उचित साइनेजहरु सहितको सुविधा वृद्धि गर्ने।
ख) पर्यटन विभाग, पर्यटन बोर्ड, पुरातत्व विभाग, महानगरपालिका÷नगरपालिका तथा अन्य सहयोगी संस्थाहरुको समन्वयमा विश्व सम्पदा सूचीमा परेका सबै र जनकपुरजस्ता क्षेत्रलाई व्यवस्थित साइनेज सहितको सफा शौचालययुक्त र प्लास्टिक तथा फोहोरमुक्त क्षेत्र बनाई विश्वस्तरीय गन्तव्यको हाराहारीका आवश्यक सुविधा थप्न र सौन्दर्यीकरण गर्ने।
ग) नेपाल वायुसेवा निगमका सबै फ्लाईट, विमानस्थल, मुख्य गन्तव्यहरु, पर्यटकले बसोबास गर्ने होटल, खानपीन हुने रेस्टुरेन्ट बार, यातायात हुने हवाइजहाज तथा गाडीहरुका लागि निजी क्षेत्रसँगको सहकार्यमा एउटा मापदण्ड बनाई सेफ्टी र हाइजिनमा आश्वस्त पार्न सकिने संयन्त्र बनाउन, चेकलिस्ट बनाउन, र लक्षित समूहसम्म पुग्ने गरी प्रभावकारी माध्यममार्फत सञ्चार गर्ने।
घ) उद्यमी र कामदार बचाउन राहतका प्याकेज यथासिघ्र उपलब्ध गराउन र उद्योग पु्नः फस्टाउनका लागि उत्साहित बनाउने प्याकेज ल्याउन र पर्यटनमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि गर्ने।
२) नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका तर्फबाट:
क) हाल यात्रुहरुको चाप शून्य हुँदा विमानस्थल खाली छन। अझै केही समय विमानस्थलहरुको चाप निकै कम हुनेवाला छ। यसबेला विमानस्थलहरुको विस्तार, मर्मतसम्भार, तथा सौन्दर्यीकरणका लागि सबैभन्दा उपयुक्त समय हो। यसतर्फ प्राथमिकुताका साथ सक्रिय रहने।
ख) अब यात्रा गर्ने यात्रुहरुको पहिलो शर्त नै स्वास्थ्यसम्बन्धी सुरक्षा रहने भएकाले जहाज, विमानस्थल, अध्यागमन र टिकट काउन्टरहरु, भन्सार कक्ष, सेक्युरिटी चेकजस्ता स्थलहरु डिसइन्फेक्ट गर्ने, यात्रुहरु बीच दुरी कायम गराउन सकिने गरी व्यवस्थापन गर्न र यसको नियमित अनुगमनका लागि एक संयन्त्र बनाउने।
ग) अग्रपंक्तिमा कार्यरत कर्मचारीलाई विशेष खालको तालीम दिने र अन्य कर्मचारीलाई पनि स्वास्थ्य सुरक्षासम्बन्धी तालीम तथा अभिमुखीकरण प्रदान गर्ने। र यससम्बन्धी आवश्यक उपकरणको व्यवस्था पनि अहिले नै गर्ने।
घ) भीडभाड कम गर्न नयाँ प्रविधि (मोबाइल एप वा अन्य डिजिटल प्रविधि) मार्फत् सेवा दिने व्यवस्था गर्ने।
३) नेपाल पर्यटन बोर्डका तर्फबाट
क) निजी क्षेत्र र विज्ञसँगको परामर्शमा सर्भाइभल तथा रिभाइभलको योजना तथा कार्यक्रम तय गर्ने।
ख) निजी क्षेत्रका लागि उनीहरुसँगकै सहकार्यमा तालिम तथा अभिमुखीकरणका कार्यक्रमहरु तत्काल डिजाइन गरी कार्यान्वयन गर्ने। यस्ता कार्यक्रमहरु कोरोना महामारीले सृजना गरेको नयाँ परिवेशमा कसरी सुरक्षित रहने र पर्यटकका लागि दिइने सेवा सुरक्षित बनाउने खालका विषय वस्तुमा आधिारित मोडलमा प्रदान गर्ने। त्यसैगरी हरेक संकटले एउटा नयाँ अवसर पनि जन्माउने हुँदा नयाँ परिवेशमा व्यवस्थापन र बजारीकरणसम्बन्धी, नयाँ प्रविधि र प्रविधिको प्रयोगसम्बन्धी विषयहरुमा तालीम तथा अभिमुखीकरणहरु विज्ञहरुबाट प्रदान गराउने।
ग) अन्तर्राष्ट्रिय संस्था, मुख्य स्रोत बजारका टुर अपरेटर्स, एयरलाइन्सजस्ता संस्थाहरुसँगको सुमधुर सम्बन्ध बनाइराख्ने। भविष्यमा पर्यटक भित्र्याउन यस्ता प्लेयर्सलाई दिनुपर्ने इन्सेटिभको पनि योजना बनाउने। मनछुने सन्देशसहितका एउटा विशेष थिममा योगा, मेडिटेशन, सफा वातावरण, स्वास्थ्यवर्द्धक खानपिनमा प्रयोग गरिने मसाला र जडिबुटिका कथासहित नेपाली खानाका रिसीपीसम्बन्धी भिडियोहरु बेला–बेला सामाजिक सञ्जालमार्फत् रिलीज गर्ने।
घ) नयाँ परिवेशमा गन्तव्य बजारीकरण गर्न स्रोत बजारहरुको पहिचान गर्ने। नेपालको बलियो ब्रान्डिङ गर्न आवश्यक पर्ने आकर्षक थिम, कन्टेन्ट, स्टोरीहरु संकलन गर्ने, सृजना गर्ने र व्यापक प्रवर्द्धनका लागि तयारी अवस्थामा बस्ने।
४) नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रशिक्षण प्रतिष्ठानका तर्फबाट:
क) पर्यटकहरुलाई आवश्यक पर्ने गुणस्तरीय सेवाका क्षेत्र पहिचान गरी सोही बमोजिमका व्यावसायिक तालीम दिने।
ख) तालीम तथा अभिमुखिकरणका म्यानुअलमा स्वास्थ्य तथा सुरक्षाका विषयवस्तु लाई प्राथमिकताका साथ राख्ने ।
३) वर्षौंअघि तालीम लिएका पथप्रदर्शक, वेटर, हाउसकिपिंगजस्ता क्षेत्रमा कार्यरत जनशक्तिलाई कोरोना भाइरसको महामारीपछिको अवस्थामा पुनर्ताजगी तालीम दिने र यसमा निजीस्तरमा सञ्चालित प्रशिक्षण प्रतिष्ठानसँग पनि समन्वय गर्ने।
घ) होटल तथा रेष्टुरेन्टको फुड हाइजिन, कोठाहरु, हलहरु, लबी, स्वीमिंग पुल, क्लब आदिको अवस्था निश्चित मापदण्डअनुसार रहे नरहेको बारेमा पर्यटन विभाग र सम्बन्धित क्षेत्रका छातासंस्थासँगको समन्वयमा नियमित रुपमा अनुगमन गर्ने।
(जोशी पर्यटन बोर्डका निवर्तमान सिइओ हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।