काठमाडौं- अपहरणमा परेको भनिएका समाजवादी पार्टी नेपालका सांसद सुरेन्द्र यादव पार्टीका नेताहरुको सम्पर्कमा पुगेका छन्। पार्टी टुक्र्याउने उद्देश्यले सत्ता पक्षले आफूलाई अपहरण गरेर काठमाडौं ल्याएको उनले समाजवादीका नेताहरुलाई बताएका छन्।
समाजवादीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले यादव सरकारको घेराबाट बाहिर निस्किन सफल भएको बताएका छन्।
यादवले आफूलाई अपहरण गरिएको र प्रशासनले दु:ख दिएको निकटस्थ नेताहरुलाई बताएका छन्।
पाण्डेले यादवसँगको तस्विर पोष्ट गर्दै ट्विटरमा लेखेका छन्, 'पूर्व स्वास्थ्यराज्यमन्त्री तथा सांसद सुरेन्द्र यादव मेरियट होटलमा प्रमले बनाएको घेरा तोडेर निस्कन सफल। यादवजी पिएसओलाई पनि झुक्याएर निस्कन सफल हुनुभएको छ।'
यादव हिजो रातारात काठमाडौं ल्याइएका थिए भने राति नै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए। त्यसपछि उनलाई मेरिएट होटेलमा राखिएको थियो।
यादवको भनाइ उद्घृत गर्दै पाण्डेले भने, 'उहाँले आफूलाई अपहरण गरिएको बताउनुभएको छ। अहिले पनि डराइरहनुभएको छ।'
यादवलाई नेपाल प्रहरीका एक पूर्व उच्च अधिकारी र नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका एक सांसद र अर्का एक जना भएर र जनकपुरबाट काठमाडौं ल्याइएको बुझिएको छ।
यसैगरी पार्टी फुटाउने तयारीमा रहेको भनिएका समाजवादीका सांसदहरु मोहम्मद इस्तियाक राई र रेणु यादवसँग पनि बाबुराम भट्टराई र उपेन्द्र यादवले कुराकानी गरिरहेको बुझिएको छ।
यादव महोत्तरीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। यादव ओली सरकारकै पालामा स्वास्थ्य राज्यमन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।