बैतडी– गजेन्द्र बोहराले बैतडीमा भइरहेको बिडिसिए कपमा एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन्।
निंगलाशैनी क्रिकेट क्लब, देहिमाडौँको टिमका लागि खेलेका बोहराले लिग चरणको खेलमा केदारशक्ति क्रिकेट क्लबसँगको खेलमा १ सय ४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन्। निंगलाशैनी खेल मैदानमा उनले ५५ बलमा १४३ रन बनाए । यसक्रममा बोहराले सात छक्का र २१ चौका प्रहार गरे। उनले ४२ बलमै शतक बनाएका थिए।
बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टका अनुसार यसअघि बिडिसिए कपको एउटै इनिङमा सर्वाधिक रन बनाउनेको सूचीमा कैलपाल क्रिकेट क्लबका जनक चन्दको नाम सामेल थियो। चन्दले १०९ रन बनाएका थिए।
नयाँ रेकर्ड बनाएका बोहराले गत असारमा काठमाडौँमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम यू–१६ को टिमबाट खेलिसकेका छन्। उनी गत वर्ष नै काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल)मा पनि काठमाडौँ किंग्स इलेभनका लागि खेलेका थिए।
बोहरा विगत दुई वर्षदेखि काठमाडौँस्थित हिमालयन क्रिकेट एकेडेमीमा आबद्ध छन्। उनले भारतको मुम्बईस्थित एडभान्स क्रिकेड एकेडेमीबाट तीन वर्षसम्म प्रशिक्षणसमेत लिएका थिए। दशरथचन्द नगरपालिका–२ देहिमाडौँका १५ वर्षीय बोहरा दाँया हाते ब्याट्सम्यान हुन्।
केदारशक्ति क्रिकेट क्लबबिरुद्धको खेलमा बोहराको १४३ रनको व्यक्तिगत स्कोरसहित निंगलाशैनीले चार विकेटको क्षतिमा २० ओभरमा ३०३ रन बनाएको थियो। “बिडिसिए इतिहासमै कुनै एउटा टिमले बनाएको यो नै सबैभन्दा उच्च स्कोर हो,” संघका कोषाध्यक्ष भट्टले भने।
उक्त खेलमा निंगलाशैनीका प्रकाश नाथले ६० तथा लक्ष्मण बोहराले ५१ रन बनाए । तीन सय ४ रनको विजयी लक्ष्य पछ्याएको केदारशक्तिले १० दशमलब १ ओभरमा मात्र ५१ रन बनायो। निंगलाशैनी बिडिसिए कपमा २५६ रनको फराकिलो अन्तरले जित्ने टोली बनेको छ।
क्रिकेटमा नयाँ प्रतिभाको खोजी गर्न बैतडी जिल्ला क्रिकेट संघले हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्दैआएको छ। जिल्लाबाट हालसम्म थुप्रै पुरुष र महिला क्रिकेट खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।
क्रिकेट गतिविधि भइरहेका भए पनि खेलमैदान नहुँदा प्रतियोगिता सञ्चालन गर्न समस्या हुने गरेको छ। जिल्लामा निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय स्तरको दशरथचन्द रंगशाला तीन वर्षदेखि अलपत्र अवस्थामा छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।