काठमाडौं- लकडाउनका कारण कृषि तथा पशुपालन क्षेत्रबाट उत्पादित वस्तु बजारसम्म पुग्न नसेकेपछि नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न बागमती प्रदेशले नयाँ योजना ल्याएको छ।
बागमती प्रदेशको भूमि व्यवस्था सहकारी, कृषि तथा सहकारी मन्त्रालयले कोरोना भाइरस संक्रमणको त्रासबाट उत्पन्न भएको परिस्थितिबाट कृषि, पशुपन्छी, माछापालन, र आम उपभोक्तासमेतमा परेको समस्यालाई मध्यनजर गर्दै बुधबारबाट ‘एग्रि प्रोडक्ट म्यारिज ब्युरो’ कार्यान्वयनमा ल्याएको हो।
कृषि व्यवसायीको खेतबारी तथा फार्ममा उत्पादन भएको तरकारी फलफूल, अण्डा, दूध, मासु, मासुलगायत कृषि, पशुपन्छि र मत्स्य उत्पादन लकडाउनका कारण बिक्री नभई समस्या देखिएकाले त्यस्तो समस्या समाधान र समन्वयका लागि ब्युरो स्थापना गरिएको हो।
कृषकले आफूले उत्पादन गरेको वस्तु बेच्न नसकेमा प्रदेशलाई सम्पर्क गर्नुपर्नेछ भने प्रदेशले त्यस्तो वस्तुको बजारीकरणका लागि सहयोग गर्नेछ। कृषकले आफ्नो समस्याबारे जानकारी गराउन मन्त्रालयको ब्युरो फोन नम्बर ०५७–५२५९४९ वा ९८४५१२५०९०, ९८४५६१२९२१ र ९८४५१५३९२३ मा सम्पर्क गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।