काठमाडौ- माइक्रोसफ्ट टिम सफ्टवेयरबाट अनलाइन संसद चलाउने तयारी संसद्ले गरेको छ। कोरोना संकटको समयमा सांसदहरु आफू रहेको ठाउँबाट अनलाइन संसदमा सहभागी हुन सक्ने गरी संसद सचिवालयले तयारी थालेको छ।
यस विषम परिस्थितिको वर्तमान समयमा संघीय संसदमा ई‐पार्लियामेन्टको अवधारणालाई स्थापित गर्ने विकल्पबारे आवश्यक सुझाव दिन सचिवालयका सचिव (अनुसन्धान) ध्रुवप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन भएको थियो। उक्त समितिले सफ्टवेयरको प्रयोगबाट अनलाइन संसद चलाउन सकिने सुझाव दिएको हो।
यसका लागि विकल्प आधार, आवश्यक प्रविधि, त्यसको प्रयोगको अवस्था, आवश्यक पूर्वाधारहरु, बजेटलगायतका विषयमा अध्ययन गरी ७ दिनभित्र प्रारम्भिक र एक महिनाभित्र पूर्ण प्रतिवेदन पेश गर्न २०७७ साल वैशाख ४ गते उक्त समिति गठन भएको थियो। समितिले आज २०७७ साल वैशाख १० गते प्रारम्भिक प्रतिवेदन पेश गरेको छ।
समितिले डाटा लिकेजलगायत सबै पक्षबाट सुरक्षित, संस्थागत प्रयोगकर्ताहरूको लागि विशेष विशेषताहरू रहेको, ३०० जनाभन्दा बढी प्रयोगकर्ताहरूले एकैपटक प्रयोग गर्न सक्ने, रेकर्डिङ, सर्चिङ सुविधा भएको, छलफलका बीचमै दुई वा सोभन्दा बढी सदस्यहरुबीच आपसमा गोप्य छलफल समेत गर्नेलगायतका सुविधाहरु रहेको समितिको निष्कर्ष छ।
डाटा स्टोरेजको समस्या नरहेको, गोप्य भोटिङ गर्न सकिने सुविधा रहेको, फाइल सेयर तथा स्टोर गर्न सकिने, लकडाउनको समयको लागि लाइसेन्स शुल्कमा केही छुट पनि उपलब्ध हुने देखिएको, मोबाइल, डेस्कटप, ल्यापटपमा वेबबाटै सिधै कन्फ्रन्सिङ गर्न सकिने र नेपालमै माइक्रो सफ्ट टिमको आधिकारिक स्थानीय विक्रेताहरू रहेकोले बजारमा उपलब्ध अन्य प्रविधिभन्दा तुलनात्मक रुपमा उक्त प्रविधिको प्रयोग गर्न उपयुक्त हुने सुझाव पेश गरेको सचिवालयले जनाएकफ छ।
आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी यस प्रविधिलाई सञ्चालनमा ल्याउन करीब १० दिनको समय लाग्न सक्ने समितिको निष्कर्ष छ। सचिवालयले यस कार्यलाई शीघ्र अगाडि बढाउन निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।