काठमाडौं- सरकारले सोमबार ल्याएका दुई अध्यादेशविरुद्ध सत्ता बाहिरका चार दल एकै स्थान उभिने निर्णय बुधबार भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ल्याएको अध्यादेश फिर्ता नलिए लकडाउन लगत्तै आन्दोलनमा जाने चार दलको तयारी छ।
नेपाली कांग्रेसले बोलाएको बैठकमा राजपा,समाजवादी र राप्रपाका शीर्ष तहका नेता सहभागी थिए। बैठक सकिएपछि कुन नेताले के भने? उनीहरुकै शब्दमा:
कुनियतले अध्यादेश ल्याइयो : रामचन्द्र पौडेल,
कांग्रेस वरिष्ठ नेता
अहिलेको परिवर्तनलाई नै उल्टाउने नियतका साथ अध्यादेश आएको छ। सुशासन दिने र लोकतन्त्रमा सबैको स्वामित्व हुने कुरालाई आँच पुर्याइयो। पार्टी फोड्ने नियतले अध्यादेश ल्याइएको छ। यो स्वेच्छाचारी नियत देखियो। प्रधानमन्त्रीको कदम अधिनायक दिशामै बढेको देखियो।

अध्यादेशले चुनावको निष्पक्ष हुनेमा शंका रह्यो। अदालतमा न्याय, लोकसेवामा भरोसा नहुने भयो। राज्यप्रति नागरिको भरोसा नहुने गरी संविधानको मर्म भत्काउने गरी अध्यादेश आएको छ। विपक्षी दल एक ठाउँमा भयौं। विरोध गर्नुको विकल्प छैन।
सामाजिक दुरी कायम गरी संसद बोलाइयोस्। नागरिक र बुद्धिजिवीलाई सँगै लिएर जाने निर्णय गरिएको छ। सरकारका गलत कदमका विरुद्धमा सम्मिलित आवाज उठाउने निर्णय गरिएको छ। दायरा फराकिलो बनाएर छलफल गरिन्छ। संयुक्त राष्ट्रिय अभियान सुरु गरिन्छ। जनमत निर्माण गर्ने कार्य विभिन्न माध्यमबाट गरिन्छ।
कोरोनाबाट जोगिँदै आफ्नो दायित्व पनि निर्वाह गर्नेछौं। सरकारलाई दबाब सिर्जना गर्छौं।
अरु दल फुटाउँछु भन्नु अपराध हो : उपेन्द्र यादव
अध्यक्ष, समाजवादी पार्टी
अध्यादेश राष्ट्रहितको विरुद्धमा छ। लोकतन्त्रको रक्षाका लागि अघि बढ्छौं। गृहकार्य गर्दै हामीबीच छलफल जारी रहन्छ।

प्रधानमन्त्रीले संविधानलाई किन भत्काउनु पर्यो? नाटकीय ढंगले अध्यादेश किन ल्याउनुपर्यो? यसको विरुद्धमा हामी लाग्छौं। दलको रक्षा गर्ने जिम्मेवारी प्रमको पनि हो। तोकेर दल फुटाउनु भन्नु अपराध हो।
सरकार बनेदेखिकै सबैभन्दा गलत कदम : कृष्ण सिटौला
नेता, नेपाली कांग्रेस
संविधान विपरीत अध्यादेश ल्याइएको छ। लोकतान्त्रिक मूल्यमान्यता भत्काइएको छ। तत्काल फिर्ता गर्नुपर्छ। सरकारले फिर्ता गरेन नगरी कार्यान्वयन गर्यो भने आन्दोलन हुन्छ।

अध्यादेश अहिलेको आवश्यकता होइन। संसदलाई छलिएको छ। सरकारसँगै एउटै विकल्प छ,अध्यादेश फिर्ता गर्ने। फिर्ता नगरे संयुक्त आन्दोलन गर्नुपर्ने अवस्था आउँछ। पर्दाभित्र बसेर गलत निर्णय गरिएको छ। अहिलेको सरकार बने पछिका गलत काम मध्येको यो कदम सबैभन्दा गलत हो।
मुलुकलाई अधोगतितिर लाने नियत : शरदसिंह भण्डारी, राजपा
सुनियोजित तवरबाट अध्यादेश ल्याइएको छ। स्थायित्वको विश्वासले नैजनताले नेकपालाई म्यान्डेट दिएका थिए। तर सरकारले अधोगति तिर लाग्ने कार्य गर्यो। संवैधानिक परिषदमा गरिएको व्यवस्थाले शक्ति सन्तुलन नै सिद्धाइयो। आस्थाको केन्द्रमा लाद्ने काम भयो। सरकारले कार्य अपराध जस्तै है। तत्काल फिर्ता गर्नुपर्छ।

हठात् संसद रोक्ने कार्य अध्यादेश ल्याउनका लागि रहेछ। संसद बोलाएर त्यहाँ छलफल हुनुपर्छ। जनताले थाहा पाउनुपर्छ। कोरोना महामारीलाई डाइर्भट गर्ने कार्य भएको छ। हामी सरकारको कार्यको म्यासेज जनतासम्म पुर्याउछौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।