बुटवल- कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बर्दियास्थित राजनैतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका प्रमुखसँग एकीकृत भिडियो संवाद गरेका छन्।
कोरोना रोकथाम तथा नियन्त्रणमा मुख्यमन्त्रीद्वारा गरिएको यो आठौं भिडियो संवाद हो। बुधबार भएकाे सर्वपक्षीय भिडियो संवादमा बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेम खनाल, बर्दिया जिल्ला समन्वय समितिका प्रमुख शंकर थारु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दिया इञ्चार्ज लक्ष्मण ज्ञवाली, नेपाली कांग्रेस जिल्ला सभापति सञ्जय गौतम र नेकपा बर्दियाका अध्यक्ष भुवन थारु सहभागी थिए। भिडियो संवादमा सहभागीहरुबाट बर्दियामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएका काम र आगामी दिनमा गर्नुपर्ने कामबारे मुख्यमन्त्री पोखरेलले जानकारी लिए। जानकारी लिएपछि पाेखरेलले कोरोनामा नियन्त्रण सबै मिलेर अघि बढ्नुपर्ने र सबै मिलेर मात्रै कोरोनालाई पराजित गर्न सकिने बताए।
उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या थपेर कडाई गरिएको जानकारी दिँदै पहिलो चरणमा स्वास्थ्य सामग्री पठाइएको र थप अब उपलब्ध गराउँदै जाने बताए। उनले चिकित्सकसहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काममा खट्न प्रेरित गर्न आग्रह गरे। मुख्यमन्त्री पोखरेलले स्थानीय श्रमलाई प्रयोग गरेर गर्ने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकास निर्माणका काम नरोक्न र अघि बढाउन निर्देशन दिए।
उनले स्थानीय तहलाई कोरोनाविरुद्धको कामअघि बढाउन पठाएको र जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम पठाउने आज निर्णय गरेको जानकारी दिए। उनले राहत संकलन र प्रदान एकद्वार प्रणालीबाट अघि बढाउन आग्रह गरे। सामाजिक दूरी कायम गरी स्थानीय श्रमलाई प्रयोग गरी गर्न सकिने विकास निर्माणका कामअघि बढाउन उनले निर्देशन दिए।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहाँ आइसीयूसहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रबन्ध भएको उनले जानकारी दिए। कोरोनाविरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउँदै उनले बर्दियामा सामुदायिक क्वारेन्टाइन बनाउन थालिएको विषय प्रशंसनीय भएको बताए।
भिडियो संवादमा सहभागीहरुले र्यापिड टेस्टको संख्या बढाउन, स्वास्थ्य सामग्रीको आपूर्ति बढाउन, स्वास्थ्य संस्थाहरुलाई सबल र सक्षम बनाउन आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।