भैरहवा- नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोनाको उच्च संक्रमणका बीच सम्भावित जोखिममा नागरिकलाई सुसूचित गराउने काममा क्रियाशिल पत्रकारलाई कतिपय सञ्चारगृहले पारिश्रमिक उपलब्ध नगराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संकटको समयमा काम गर्ने पत्रकारको समस्यालाई तत्काल सम्बोधन गर्न महासंघ रुपन्देहीले माग गरेको छ।
जोखिमको समयमा काम गरेका पत्रकारलाई विशेष सुविधा दिन माग गर्दै महासंघले कोभिड–१९ को संक्रमणले उत्पन्न जटिल परिस्थितिमा समाचार संकलनका क्रममा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सञ्चारकर्मीलाई आग्रह गरेको छ। महासंघले लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ।
महासंघका अध्यक्ष यानेन्द्र जीसी तथा सचिव रामप्रसाद आचार्यद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा क्वारेन्टाइन, आइसोलेसन वार्ड, संक्रमण परीक्षणस्थलको संवेदनशीलतालाई ख्याल गर्न, पर्याप्त पूर्वसतर्कता र सुरक्षाको सुनिश्चितता नभइ नजान पनि पत्रकारहरुलाई आग्रह गरिएको छ। विज्ञप्तिमा वर्तमान परिस्थितिमा सञ्चार क्षेत्रले खेलेको भूमिका र चुनौतीको समीक्षा गर्दै सरकारले संक्रमण नियन्त्रणका लागि चलाएको अभियानलाई सञ्चार क्षेत्रको तर्फबाट पूर्ण साथ दिँदै मर्यादित र जिम्मेवार पत्रकारितालाई महासंघले जोड दिइएको छ।
विज्ञप्तिमा श्रमजीवी पत्रकारका समस्याप्रति गम्भीर बन्न र संकटको यो घडीमा त्यस्ता निर्णयहरु नगर्न सञ्चार प्रतिष्ठानको ध्यानार्कषण गराएको छ। विज्ञप्तिमा लकडाउनका कारण दैनिक जीवनयापनमा समस्यामा परेका क्रियाशील पत्रकारहरुले महासंघको नेतृत्वलाई तत्काल जानकारी गराएका अवस्था हेरेर राहत कोषबाट आवश्यक सहयोग गरिने जनाइएको छ। साथै संकटको समयमा विभिन्न क्षेत्रबाट महासंघलाई संस्थागत सहकार्य गरी सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।