काठमाडौं - नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। धरानस्थति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पिसिआर परीक्षणका क्रममा २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४५ पुगेको छ। यी मध्ये ७ जना उपचारपछि निको भइसकेको उनले जानकारी दिए।
अहिलेसम्म स्वाब संकलन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको मन्त्रालयको भनाइ छ। पिसिआर विधिबाट ९ हजार ११ र आरडिटी विधिबाट ३१ हजार ४ सय ३० नमुना परीक्षण भएका हुन्। गत २४ घण्टामा ३ हजार ७ सय ३६ परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।
मन्त्रालयका अनुसार सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ। प्रदेश नम्बर १ मा ३ हजार ९७, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २५ र बाग्मती प्रदेशमा ५ हजार ९ सय १५ परीक्षण भएका छन्। यसैगरी गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश नम्बर ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३ सय ८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ वटा परीक्षण भएका छन्।
देशभर ८हजार ५ सय ९५ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ३ र उपत्यका बाहिर ९२ जनासहित देशभरी ९५ जना आइसोलेसनमा रहेका छन्।
कोरोना संक्रमण भएर पनि ७ जना निको भइसकेको समेत मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।