काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय जति सक्दो परीक्षण र उपचार गर्नुलाई मानिन्छ।
विश्व स्वाथ्य संगठन(डब्लूएचओ)ले पनि कोरोना रोकथाम तथा नियन्त्रणमा परीक्षणलाई नै जोड दिएको छ। डब्लुएचओले भनेको छ‚ ‘परीक्षण, परीक्षण र परीक्षण।’
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) क्षेत्रका देशहरुको परीक्षण दाँजेर हेर्दा भुटानले सबैभन्दा धेरै कोरोना परीक्षण गरेको छ। भुटानले अहिलेसम्म ८ हजार ७ सय ६५ जनाको कोरोना परीक्षण गरेको छ, जुन प्रति १० लाखमा ११ हजार ३ सय ५९ हुन आउँछ। भुटानमा अहिलेसम्म ६ जनालाई कोरोना देखिएको छ। उनीहरू सबै उपचाररत छन्।
परीक्षणकै विषयमा दोस्रो नम्बरमा माल्दिभ्स छ। माल्दिभ्समा अहिलेसम्म ४ हजार १ सय ३९ जनाको कोरोना परीक्षण भएको छ, जुन प्रति १० लाखमा ७ हजार ६ सय ५७ हुन्छ। अहिलेम्म ८६ जनालाई कोरोना संक्रमण देखिएको छ। उनीहरू सबै उपचाररत छन्। तेस्रो स्थानमा रहेको पाकिस्तानमा अहिलेसम्म १ लाख १८ हजार २० जनाको कोरोना परीक्षण भएको छ। यो भनेको प्रति १० लाखमा ५ सय ३४ हो। पाकिस्तानमा अहिलेसम्म ९ हजार ७ सय ४९ जनाको कोरोना परीक्षण भएको छ। पाकिस्तानमा कोरोना भाइरसका कारण २ सय ९ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसको परीक्षणका विषयमा श्रीलंका चौथो नम्बरमा छ। श्रीलंकामा अहिलेसम्म ७ हजार ३ सय ९३ जनाको कोरोना परीक्षण भएको छ, जुन प्रति १० लाखमा ३ सय ४५ हो। श्रीलंकामा अहिलेसम्म ३ सय २१ जनालाई कोरोना संक्रमण भएको छ भने ७ जनाको मृत्यु भएको छ।
पाँचौ नम्बरमा रहेको भारतमा हालसम्म ४ लाख ६२ हजार ६ सय २१ जनाको कोरोना परीक्षण भएको छ। प्रति १० लाखमा ३ सय ३५ परीक्षण गरेको भारतमा अहिलेसम्म २० हजार १ सय ७८ जनालाई कोरोना संक्रमण भएको छ भने ६ सय ४५ जनाको मृत्यु भएको छ। सार्क क्षेत्रमै भारतमा कोरोना संक्रमित र मुत्यु हुनेको संख्या बढी छ।
कोरोना परीक्षणका विषयमा नेपाल भने छैंटौ स्थानमा छ। नेपालमा अहिलेसम्म ८ हजार ७ सय ७३ जनाको कोरोना परीक्षण भएको छ, जुन प्रति १० लाखमा ३ सय १ जना हुन आउँछ। नेपालमा अहिलेसम्म ४२ जनालाई कोरोना संक्रमण भएको छ। नेपालमा देखिएका ६ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन्। अन्यको विभिन्न स्थानमा उपचार भइरहेको छ।
सातौं नम्बरमा रहेको बंगलादेशमा अहिलेसम्म २९ हजार ५ सय ७८ जनाको कोरोना परीक्षण भएको छ। यो प्रति १० लाखमा १ सय ८० जना हुन आउँछ। बंगलादेशमा अहिलेसम्म ३ हजार ३ सय ८२ जनालाई कोरोना संक्रमण भएको छ भने १ सय १० जनाको मृत्यु भएको छ।
र, अन्तिममा अन्तिममा अफगानिस्तान रहेको छ। त्यहाँ ६ हजार ४ सय २२ जनाको कोरोना परीक्षण भएको छ, जुन १ सय ६५ जना हुन आउँछ। अफगानिस्तानमा अहिलेसम्म १ हजार ९२ जनालाई कोरोना संक्रमण भएको छ भने ३६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।