डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको केन्द्र भागमा रहेको डडेल्धुरामा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अध्ययन सुरु भएको छ। संघीय सरकार अन्तर्गतको विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण ल्याब स्थापना हुँदा यहाँका पहाडी जिल्लाका लागि समेत सहज हुने भन्दै प्रयोगशाला स्थापनाका लागि अध्ययन सुरु भएकाे हाे।
कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि विज्ञहरूको टोलीले अस्पतालमा पुगेर सम्भाव्यता अध्ययन सुरु गरेको हो। संघीय सरकारकाे डडेल्धुरा अस्पतालमा कोरोना परीक्षणका लागि पिसिआर ल्याब स्थापना गर्ने योजनाअनुरुप अध्ययन सुरु गरिएको अस्पतालले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डाक्टर श्रवणकुमार मिश्र नेतृत्वको टोलीले डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरेकाे हाे।
डडेल्धुरा अस्पतालको क्षमताका आधारमा प्रयोगशाला स्थापना जरुरी रहेको र प्रयोगशाला भएमा अन्य सेवाका लागि समेत सहजता हुने डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज ईश्वरीप्रसाद भुसालले बताए। अस्पतालमा पिसिआर ल्याब स्थापना भएपछि सुदूरपश्चिमका पहाडी जिल्लाका जनताका लागि उपचारमा निकै सहजता हुने र अस्पतालमा रहेका विशेषज्ञ डाक्टरहरुले समेत काम गर्न सक्ने उनले बताए। प्रयोगशाला सञ्चालनमा आएमा कोरोनाको मात्रै नभएर अन्य मलिकुलर चेकजाँचका लागि समेत सजिलो हुने ल्याब इन्चार्ज भुसालले बताए।
डडेल्धुरा अस्पताल संघीय सरकारको विशेषज्ञ अस्पतालअन्तर्गत रहेको र ५०० शय्याभन्दा बढी क्षमता भएकाेले प्रयोगशाला स्थापनापछि अस्पतालले प्रदान गर्ने सेवामा समेत प्रभावकारिता आउने अपेक्षा गरिएकाे छ।
डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि स्थानिय सरकारले संघीय सरकारसँग समन्वय गरिरहेको अमरगढी नगरपालिका डडेल्धुराका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। अध्ययन टाेलीले प्रतिवेदन मन्त्रालयमा पेश गरेपछि डडेल्धुरामा प्रयोगशाला निर्माणको काम सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।