काठमाडौं- धादिङका एक युवा कोरोना संक्रमणपछि निको भएका छन्।
उनलाई उनकै स्थानीय सरकारको समन्वयमा डिस्चार्ज गर्ने तयारी भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा सागरराज भण्डारीले बताए।
'उपचारपछि उहाँ निको हुनु भएको छ। उहाँको पछिल्लो प्रयोगशाला परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको छैन', उनले भने, 'हामीले उहाँलाई डिस्चार्ज गर्ने तयारी गरेका छौं। तर हामी उहाँलाई धादिङको स्थानीय तहसँगको सम्पर्क र समन्वयपछि मात्र डिस्चार्ज गर्ने छौं।'
युएईबाट आएका धादिङका ती युवालाई चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
उनी चैत ६ गते (मार्च १९) मा युएईको सारजाँहबाट एयर अरेवियाको उडानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए।
३२ वर्षीय ती युवा चैत ६ गते नेपालमा आए पनि १० गते मात्र टेकु अस्पताल पुगेका थिए। अस्पताल पुगेका उनको नमुना परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको हो।
तर, उक्त अवधिमा उनी धादिङ घरमा भने गएका थिएनन्।
उनीसहित नेपालमा कोरोना निको हुनेको संख्या ६ पुगेको छ।
टेकु अस्पतालबाट नै यसअघि दुई जना निको भएर घर गइसकेका छन्। धनगढीस्थित सेती अस्पतालबाट दुई जना र बाग्लुङस्थित धौलागिरी अस्पतालबाट एक जना डिसचार्ज भइसकेका छन्।
नेपालमा हालसम्म ४२ जनामा कोरोना देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।