काठमाडौं- सरकारले हालै ल्याएको दुई अध्यादेशको विरुद्धमा साझा पार्टीले तीन प्रस्ताव अघि सारेको छ।
पार्टीका सह प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा डिजिटल अभियानदेखि संसद बैठकको आह्वानसम्मको प्रस्ताव गरिएको छ।
‘राजनीतिक दलसम्बन्धी अध्यादेश निहित स्वार्थपूर्तिका लागि पार्टी फुटाउने कुत्सित मनसायबाट र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संवैधानिक निकायमाथि पूर्ण नियन्त्रण कायम गरी राजनीतिक प्रतिशोध साँध्ने ध्येयबाट प्रेरित भएको प्रष्टै देखिन्छ’, विज्ञप्तिमा भनिएकोछ।
पार्टीले प्रस्ताव गरेको तीन विकल्प
१. संसदमा रहेका र नरहेका दल, नागरिक समाज र आम सर्वसाधारण सबै मिलेर अध्यादेश खारेजीको जोडदार माग गरौँ। तत्काल सडकमा उत्रिन नसकिने अवस्थाले गर्दा हाललाई डिजिटल अभियान चलाऊँ। त्यसका लागि यसै विज्ञप्तिसाथ प्रेषित सबैले प्रयोग गर्न मिल्ने पोस्टर सामाजिक सञ्जालमा प्रयोग गरौँ।
२. अध्यादेशविरुद्ध दबाब दिन र संघर्ष गर्न संसदमा रहेका र नरहेका इच्छुक सबै दलहरूको संयुक्त मोर्चा निर्माण गरौँ। र, अब संवैधानिक निकायमा राजनीतिक भागबण्डा बन्द गर्ने प्रण गरौँ।
३. सुरक्षा प्रोटोकलको व्यवस्था मिलाएर तुरुन्त संघीय संसदको बैठक आह्वान गर्न दबाब दिऊँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।