काठमाडौं- नेपाली सेनाले चिनियाँ सरकारी कम्पनीसँग २ अर्ब २५ करोड ( १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर) भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको छ।
स्वास्थ्य सामग्री खरिदको समग्र प्रक्रियाबारे जानकारी दिन मंगलबार आयोजित भिडियो कन्फ्रेन्सिङमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सिनो फर्म इन्टरनेशनलसँग सम्झौता भएको बताए।
सेनाले चीनबाट ६७ किसिमका स्वास्थ्य सामग्री तथा औषधी ल्याउने सहमति गरेको हो।
अत्यावश्यक सामग्री हवाई मार्ग र बाँकी स्थलमार्गबाट
प्रवक्ता पाण्डेले स्वास्थ्य सामग्रीहरुमध्ये पनि अत्यावश्यक सामग्री हवाई मार्गबाट र अन्य सामग्री स्थलमार्गबाट ल्याइने बताए। व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), एन-९५ मास्क, पिसिआर टेस्ट किट्सलगायत अत्यावश्यक स्वास्थ्य सामग्री चीनको ग्वान्जाओबाट हवाई मार्ग प्रयोग गरी ल्याइने र बाँकी स्थलमार्ग हुँदै ल्याउने योजना सेनाको छ।
सेनाले चिनियाँ कम्पनीसँग ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने सहमति गरेको छ। नेपाली वाइड बडी विमानले एक पटकमा करीब १८ टनमात्रै बोक्ने भएकाले धेरै उडान गर्नुपर्ने र ढुवानी खर्च पनि अत्यधिक हुने भएकाले हवाई मार्गको विकल्प पनि प्रयोग गर्न लागेको पाण्डेले बताए।
सेनासँग स्वास्थ्य सामग्री प्रदान गर्ने सहमति गरेको चिनियाँ कम्पनीले ७ दिनभित्र अत्यावश्यक र दुई हप्ताभित्र अन्य सबै सामग्री ग्वान्जाओमा उपलब्ध गराउने बाचा गरेको पाण्डेले जानारी दिए।
स्थल मार्ग प्रयोग गर्दा ग्वान्जाओबाट तातोपानी भन्सारसम्म सामान ल्याई पुर्याउन ७ दिन र भन्सार क्लियरेन्सका लागि थप दुई लाग्ने बताइएको छ।
ढुवानीकर्ता खोज्दै सेना
स्थलमार्गबाट सामान ढुवानी गर्नका लागि चीनस्थित नेपाली दूतावासमा रहेका सैनिक सहचारीले ढुवानीकर्ता खोजिरहेको र नेपालस्थित चिनियाँ दूतवाससँग पनि त्यसबारे छलफल भइरहेको सेनाले जनाएको छ।
ढुवानीकर्ता कम्पनी जुनसुकै पनि हुनसक्ने तर तोकिएकै समयमा ल्याई पुर्याउने खालको खोजिने प्रवक्ता पाण्डले बताए। नेपालमा कोरोना संक्रमण सामान्य अवस्थामा रहेको खण्डमा मात्रै स्थलमार्गको प्रयोग गरिने तर अवस्था गम्भीर हुने र स्वास्थ्य सामग्री तत्कालै चाहिने अवस्था आएमा हवाईमार्ग नै प्रयोग योजना सेनाको रहेको छ।
भारतबाट पनि औषधी ल्याइने
सेनाले भारतबाट पनि ५३ किसिमका औाषधी ल्याउने तयारी गरेको छ। भारतले नेपाली आवश्यक सामग्री नेपाली दूतावास ल्याइदिने बताएको छ।
भारतले सबै सामग्री दूतावासमा ल्याएपछि ढुवानी प्रक्रिया थालिने पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।