काठमाडौं- राष्ट्रिय जनता पार्टीले सरकारले सोमबार मात्रै ल्याएको अध्यादेश सर्वसत्ता लाद्ने कुचेष्टा भएको टिप्पणी गरेको छ। राजपाका संयोजक शरदसिंह भण्डारीले जारी गरेको विज्ञप्तिमा अहिलेको विषम परिस्थितिमा राजनीतिक अस्थिरता हुने अध्यादेश ल्याउनु सरकारको कार्य अलोकतान्त्रिक, गैरसंवैधानिक र गैरजिम्मेवार निर्णय भएको टिप्पणी गरेको छ।
‘सम्पूर्ण विश्व नै कोरोनाको महामारीबाट थलिएको बेलामा गरिएको यसखाले असामयिक र संवेदनाहीन निर्णयले समग्र राजनीति नै कलंकित भएको छ,’ राजपाको विज्ञप्तिमा भनिएको छ, ‘पहिचान, अधिकार र समावेशीताको लागि संघर्ष गर्ने पार्टी भएको र आफ्नो माग मुद्दाप्रति दृढ संकल्पित रहेकोले यसखाले निर्णयले पार्टीलाई कुनै प्रकारको असर नपर्ने जानकारी गराउँदछौं। अहिलेको निर्णयले गर्दा कुनै प्रकारको भ्रममा नपरी महामारीमा सुरक्षित बसौं।’
राजपाले आम नेपाली जनताले दिएको म्यान्डेटका विपरीत पूरै मुलुकलाई अस्थिर बनाई राजनीतिप्रति वितृष्णा जगाउने गरी अध्यादेश जारी भएको विज्ञप्तिमा उल्लेख गरेको छ।
राजनीतिक दल विभाजन गर्न ऐन संशोधन गर्ने गरी ल्याइएको अध्यादेश जनभावनाविपरित स्थिरता, स्थायित्व र आर्थिक समृद्धिको आफ्नै मान्यताविरुद्ध मुलुकलाई अस्थिरता तर्फ धकेल्ने षड्यन्त्र भएको स्पष्ट भएको राजपाको ठहर छ। त्यस्तै .संवैधानिक परिषदमा विपक्षी दलको नेतालाई भूमिकाहीन बनाउने गरी ल्याइएको अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र भएको विज्ञप्तिमा उल्लेख छ।
राज्यको हरेक ठाउँमा आफुखुशी निर्णय र नियुक्तिहरु गरी मुलुकलाई एकात्मकता,निरंकुशता र अधिनायकवादतर्फ लाने मनसाय उदागिंएको र विधिको शासन र जनभावनाविरुद्ध मात्रै नभएर संविधानको मर्म विपरीत सर्वसत्तावाद लाद्ने कुचेष्टा छताछुल्ल भएको राजपाको विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।