काठमाडौं- अमेरिकी बजारमा कच्चा तेलको मूल्यमा अस्वभाविक गिरावट आएर ऋणात्मक अवस्थामा पुगेको छ। विश्वव्यापी रुपमा भएकाे लकडाउनका कारण सवारी साधन चल्न छाडेपछि कच्चा तेलको मूल्यमा गिरावट आएको हो।
अमेरिकामा तेलको मूल्य अवस्थाको सूचक जनाउने बेस्ट टेक्सस इन्टर्मिडियट (डब्ल्युटिआई) अनुसार प्रतिब्यारल मूल्य अमेरिकी डलर ३७ दशमलव ६३ ले ऋणात्मक छ। मे र जुन महिनामा पनि तेलको मूल्य घट्ने अवस्था देखिएपछि व्यापारीहरुले आफूसँग भएको मौज्दात तेललाई ऋणात्मक मूल्यमा भएपनि बेच्न चाहिराखेका छन्।
अन्तर्राष्ट्रिय बजारमा तेलको कारोबार भविष्यको बजार अवस्थालाई हेरेर गरिन्छ। मूल्य पनि भविष्यको बजार हेरेर नै तय हुन्छ। जसकारण अहिले तेल बिक्री नहुँदा भण्डारण खर्च दिनदिनै बढ्न थालेपछि क्रेता अर्थात तेल किन्ने ग्राहकलाई उल्टै पैसा दिएर भएपनि तेल व्यवसायीहरु आफूसँग भएको मौज्दात तेल बेच्न चाहन्छन्। यसको एउटामात्र कारण भण्डारणमा लाग्ने खर्चबाट बच्नु र ट्यांकरमा लाग्ने भाडा कम गर्नु हो।
लकडाउन जारी रहेमा मे र जुन महिनामा पनि अमेरिकामा तेलको मूल्यमा थप गिरावट आउनेछ। अन्तर्राष्ट्रिय मापदण्डको सबैभन्दा उत्कृष्ट मानिने तेल बेन्ट क्रुडको मूल्यमा पनि १० प्रतिशतसम्मको गिरावट देखिएको छ।
लकडाउनका कारण बजारमा तेलको माग घट्ने र उत्पादकहरुले पनि उत्पादन घटाउने देखिएका कारण मूल्य सन्तुलन कायम हुने अपेक्षा गरिएको थियो। अप्रिल पहिलो सातामात्रै तेल उत्पादक देशहरुको संगठन (ओपेक)ले तेल उत्पादनमा ८ देखि १० प्रतिशतसम्मको कटौती गर्ने सम्झौता गरेका थिए। जसको एउटा मात्रै कारण अन्तर्राष्ट्रिय बजारमा तेलको माग अनुसार मुल्य कायम गर्नु थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।