राजविराज– र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा कारोना पोजिटिभ देखिएका सप्तरीको सप्तकोशी नगरपालिका- १ का ७१ वर्षीय पुरुषको रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) परीक्षणमा काेराेना रिपोर्ट नेगेटिभ आएको छ।
सोमबार साँझ आएको पिसिआर रिपोर्टमा उनीसहित परिवारका अन्य दुई सदस्यको पनि कोरोना नेगेटिभ देखिएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए। उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि आइतबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।
यसैगरी, आइतबार स्वाब परीक्षणका लागि पठाइएका २२ मध्ये अन्य १८ जनाको पनि रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। एक जनाको रिपोर्ट आउन बाँकी रहेको दासले बताए। त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा फेला परेका कोरोना संक्रमितले आश्रय लिएको पाइएपछि सप्तकोशी नगरपालिकाका विभिन्न स्थानमा गरिएको आरडिटी परीक्षणका क्रममा ७१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो।
उनलाई परिवारका दुई सदस्यसहित राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको छ। कोरोनाको आशंका बढेपछि सप्तकोशी नगरपालिकाका कूल १७२ जनाको आरडिटी गरिएको र अन्य १७१ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।