भैरहवा- सरकारले घोषणा गरेको लकडाउन र कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थानीय तहले गरेका कामलाई थप प्रभावकारी बनाउन रुपन्देहीमा संयुक्त अनुगमन थालिएको छ। जिल्ला समन्वय समिति, सम्बन्धित क्षेत्रका प्रदेशसभा सांसद तथा स्थानीय तहले संयुक्त रुपमा अनुगमन थालेका हुन्।
लकडाउन तथा स्थानीय तहको एकद्वार प्रणालीलाई सफल बनाउन तथा थप प्रभावकारी बनाउन अनुगमन सुरु गरिएको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले बताए। उनले स्थानीय तहले गरेका कामलाई प्रभावकारी बनाउन तथा त्यसको विवरण तयार पारेर प्रदेश तथा संघीय सरकारलाई पठाइने बताए।
'कहीकतै अप्ठयारा छन् भने त्यसको समाधान गर्न अनुगमनले पनि महत्वपूर्ण भूमिका खेल्छ,' विश्वकर्माले भने। राहत वितरणलाई थप व्यवस्थित बनाउन अनुगमनका क्रममा पालिकाहरुलाई सहयोग गरिने उनले बताए। अनुगमनले प्रदेश सरकारले लिएको उद्देश्य पूरा गर्न महत्वपूर्ण भुमिका खेल्ने उनले बताए। कतिपय स्थानीय तहले अनुकरणीय कार्य गरेको र कहीकतै कमीकमजोरी भए त्यसलाई सच्याएर अझ प्रभावकारी रुपमा लैजाने उनले बताए।
प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले अरुलाई सहयोग गरेर उर्जावान बनाउनु नै अनुगमन तथा निरीक्षणको उद्देश्य रहेको बताए। उनले स्थानीय तह, सीमा नाका, अस्पताल, क्वारेन्टाइनको अवस्थाबारे अनुगमनमार्फत् जानकारी लिने कार्य भइरहेको बताए।
'सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीले जोखिममा काम गरे जस्तै तीनै तहमा नेतृत्व गर्ने व्यक्तित्वहरुले पनि जनतालाई सुरक्षित राख्ने तथा लकडाउनलाई प्रभावकारी बनाउन अग्रसर हुनुपर्छ, जनता बांच्नुपर्छ, नेता त अर्को पनि आउँछन्,' उनले भने।
प्रदेशसभा सांसद रमा अर्यालले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनको अवस्था, सीमा क्षेत्र, क्वारेन्टाइन तथा अस्पतालमा भएका समस्याबारे बुझ्न तथा आगामी रणनीति तयार पार्न अनुगमन थालिएको बताइन्। उनले प्रदेश सरकारले प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति तथा पालिकाहरुले विभिन्न क्षेत्रको अनुगमन गर्ने निर्णय अनुसार अनुगमन गरिएको बताइन्।
टोलीले भैरहवास्थित भीम अस्पतालको आइसोलेशन कक्ष, प्रतिमान–नीमा कलेजको क्वारेन्टाइनमा रहेका भारतीय नागरिकको अवस्था, सीमा नाकामा सुरक्षाको स्थिति तथा सुरक्षाकर्मीको अवस्था तथा मायादेवी गाउँपालिका–८ शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा रहेका नेपाली तथा भारतीय नागरिकको अवस्थाबारे बुझेको छ। टोलीलाई भीम अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालले आइसोलेसन कक्षबारे जानकारी गराएका थिए।
त्यस्तै प्रतिमान–नीमा कलेजको क्वारेन्टाइनको अवस्थाबारे नेपाली सेनाले तथा सीमा नाकाको अवस्थाबारे सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा. (राजस्व तथा भन्सार गस्ती सुरक्षा ) रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाही र इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी गराएका थिए।
त्यस्तै शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइन तथा मायादेवी गाउँपालिकाको राहत वितरणसहित कोरोना भाइरसको रोकथामका लागि गरिएको कामहरुबारे गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगाना, स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले जानकारी दिए।
गाउँपालिकाले जानकारी गराएपश्चात बोल्दै प्रदेशसभा सांसद तुल्सीप्रसाद चौधरीले गाउँपालिकाद्वारा स्थापित राहत कोषमा रकम बढाउन आवश्यक रहेको बताए। अनुगमन टोलीमा प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, तुल्सीप्रसाद चौधरी, पुष्पा थरुनी, रमा अर्याल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, उपप्रमुख पशुपति यादव, सदस्य कविराम अर्याल, खेम प्रसाद लुइटेल, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, सिद्धार्थनगर वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्वर पौडेल, राजनीतिज्ञ जीवलाल अर्याल, रामबहादुर बस्नेतलगायत रहेका थिए।
प्रतिमान–नीमा कलेजको क्वारेन्टाइनमा १५४ जना भारतीय तथा शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा भारतीय तथा नेपाली गरी २६ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।