भैरहवा- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्र्याक्टरकाे भाडादर निर्धारण गरिएको छ। यसअघि व्यवसायीले लिँदै आएको भाडादरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो।
नगरपालिकाले व्यवसायीसमेतको उपस्थितिमा सरोकारवालाहरुसँग छलफल गरेर ट्र्याक्टरको नयाँ भाडादर कायम गरेको वडा नम्बर १३ का वडा अध्यक्ष गणेश न्यौपानेले जानकारी दिए। कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसानहरु मर्कामा थिए।
तिलोत्तमामा सर्वपक्षीय छलफलबाट ट्रयाक्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार २५० रुपैंयाँ र रोटाभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ८ सय रुपैंयाँ कायम गरिएको हो। यस्तै थ्रेसरको भाडा पनि प्रतिघण्टा १ हजार ८ सय रुपैयाँ निर्धारण भएको लुम्बिनी ट्र्याक्टर समितिका अध्यक्ष खेमप्रसाद गौतमले जानकारी दिए।
अब तिलोत्तमा नगरपालिकाले सरोकारवालाहरुसँगको छलफलबाट निर्धारण गरेको भन्दा बढी भाडा कसैले लिन पाउने छैनन्। तर, तोकिएभन्दा कम भाडा लिन व्यवसायीले सक्नेछन्। तिलोत्तमा नगरपालिकाले ट्र्याक्टरको वैज्ञानिक भाडादर कायम गर्न वडा अध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको थियो।
तिलोत्तमाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ। प्रमुख खाद्यबाली धान, गहुँ, मकैंको यहाँ ठूलो परिमाणमा उत्पादन हुने गर्दछ।
स्थानीय सरकारले ट्र्याक्टरको भाडादर निर्धारण गरेकोमा किसानले खुसी व्यक्त गरेका छन्। डिजलको मूल्य, बजारको अवस्थालगायतको आधारमा आगामी दिनमा भाडादरलाई समायोजन गरेर अघि बढ्ने वडा अध्यक्ष न्यौपानेले बताए।
यसअघि तिलोत्तमाका कतिपय वडामा कल्टिभेटरको पन्ध्र सय तथा रोटाभेटर र थ्रेसरको दुई हजार एक सयसम्म प्रतिघण्टा भाडा लिने गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।