राजविराज– कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न तथा आवश्यकता अनुसार परिचालन गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले र्यापिड रेसपोन्स टिम (आरआरटी) र प्यासेन्ट रिसिभिङ्ग टिम (पिआरटी) गठन गरेको छ।
डिएसपी तिलक भारतीको नेतृत्वमा आरआरटी र इन्स्पेक्टर सन्तोष खड्काको नेतृत्वमा पिआरटी गठन भएकाे हाे। आरआरटीले जुनसुकै समस्या पर्दा तत्काल समस्या सम्बाेधन गर्ने र पिआरटीले कोरोनाको जोखिमबाट बच्न र बचाउन, संक्रमित व्यक्तिहरुलाई सम्बन्धित स्थानसम्म पुर्याउन र अन्य उद्धार कार्यमा सहयोग गर्ने छ।
मातहतका प्रहरी युनिटसमेतलाई सहभागी गराई गठन गरिएका दुवै टिम जुनसुकै बेला परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। टोलीलाई एसपी कृष्ण प्रसाईले आवश्यक निर्देशनसमेत दिएका छन्।
यसैगरी, कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन कार्यान्वयनमा समेत कडाई गर्न थालिएको छ। अनावश्यक रुपमा सडकमा निस्कने र लकडाउन उलंघन गर्ने व्यक्तिलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिएर सामाजिक दूरी कायम गरी घाममा उभ्याउन थालिएको छ।
सोमबारदेखि सुरु गरिएको यो प्रक्रियामा नियन्त्रणमा लिईएका व्यक्तिलाई लकडाउनमा पालना गर्नुपर्ने नियमको बारेमा सम्झाइबुझाई गरी आगामी दिनमा लकडाउन उल्लङ्घन नगर्ने सर्त गराएर छोडने गरिएको डिएसपी भारतीले बताए। लकडाउनलाई थप कडाई गर्न गस्तीलाई प्रभावकारी बनाइएको र सार्वजनिक स्थलहरुमा हुने भिडभाड नियन्त्रण सुरु गरिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।