काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ९ महिनामा व्यापार घाटा ८.८८ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा चालु वर्षको चैतसम्ममा व्यापार घाटा घटेको हो।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको अवधिमा ९ खर्ब ३ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ। गत आर्थिक वर्षको यही अवधिमा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ थियो। कोरोना भाइरसको जोखिमका कारण लकडाउन गरिएसँगै चैत १० गतेपछि वैदेशिक व्यापार ठप्प छ। त्यसको असर व्यापारको तथ्यांकमा देखिएको हो।
विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ९ खर्ब ८२ अर्ब रुपैयाँले वस्तु आयात भएको छ। गत आर्थिक वर्षको यही अवधिमा वस्तु आयात १० खर्ब ६१ अर्ब रुपैयाँको भएको थियो।
यसैगरी चालु वर्षको यो अवधिमा ७८ अर्ब ८१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। गत वर्ष यही अवधिमा ६९ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।