काठमाडौं- दल विभाजनको खुकुलो प्रावधान रहेको विधेयक मन्त्रिपरिषद्ले पारित गरेर राष्ट्रपतिले जारी गरेसँगै विभिन्न दलमा खैलाबैला सुरू भएको छ। कुन पार्टी फुट्ला भन्ने चर्चा पनि सुरू भएको छ।
पछिल्लो विधेयकले नेकपा, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीलाई प्रत्येक्ष प्रभावित पार्ने कतिपयको बुझाइ छ।
आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले विधेयक नेकपा लक्षित नभएको बताए पनि त्यसले पूर्व माओवादी केन्द्र खेमामा आशंका बढाएको छ। कतिपय माओवादी नेताले आक्रोशपूर्ण र शंकायुक्त प्रतिक्रिया दिएका छन्। साथै, प्रचण्डसँग छलफल गरेमा छन्।
अर्कोतिर, प्रधानमन्त्रीले विधेयकको लक्षित पार्टी राजपा र समाजवादी भएको संकेत गरेसँगै ती पार्टीप्रति धेरैमा चासो बढेको छ।राजपामा अध्यक्ष मण्डलका सदस्य अनिल झा र राजकिशोर यादव प्रधानमन्त्रीसँग नजिक हुनुको साथै भेटघाट बाक्लो भएकाले पार्टी फुटाउने षड्यन्त्र भएको हुनसक्ने सोही पार्टीका एक नेताले बताए।
त्यस्तै, समाजवादी पार्टीमा केही मधेसी र जनजाति सांसदले फुटाउने प्रयास गरेको पार्टी भित्रै चर्चाको विषय बनेको छ। तर, समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुबेदीले आफ्नो पार्टी तत्काल फुट्ने सम्भावना नरहेको बताए। बरू, अध्यादेशको प्रयोग गरेर नेकपा र राजपा फुट्न सक्ने उनको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।