काठमाडौं- प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवा भएका १० जना वरिष्ठ प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उनीहरुलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसी रहेका छन्।
उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त गर्ने जिमेवारीहरु एवम् संगठनका नीतिहरु पुरा गर्ने आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न निर्देशन दिए।
प्रहरी संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरीसामु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रदेश प्रमुखका रुपमा खटिएर जाने प्रहरी अधिकृतहरुले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्नेमा जोड दिए। साथै स्थानीय तहसँग आवश्यक सहकार्य एवम् समन्वय गरी आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उनले बताए।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड- १९) को कारण सिर्जना भएको विषम परिस्थितिमा खटिएका प्रहरी अधिकृत तथा जवानहरुको सुरक्षा, स्वास्थ्य संवेदनशिलताका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा त्यसको सही प्रयोग, सुरक्षाकर्मीहरुको परिचालनतर्फ संवेदनशील भएर अगाडि बढ्न प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी अधिकृतहरुलाई निर्देशन दिए।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले संगठनले अंगिकार गरेका नीतिहरु एवम् आफूले प्राप्त गर्ने जिम्मेवारीलाई व्यवसायिक निष्ठा, क्षमता, पारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।