काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई बेमौसमी बाजा नबजाउन सुझाव दिएको छ। सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरे लगत्तै कांग्रेसले बेमौसमी बाजा नबजाउन सरकारलाई सुझाव दिएको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् बैठकको निर्णय सञ्चार माध्यमहरुबाट सार्वजनिक भएलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेर अहिलेको प्राथमिकता कोरोनामाथि विजय हासिल गर्नु भएको स्मरण गराएका छन्। 'बेमौसमी बाजा नबजाऔं। संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो,’ उनले लेखेका छन्, ‘नेपाल देशका लागि पनि यतिबेला अन्य सबै विषय गौण छन् र गौण रहनुपर्छ। हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ। जय नेपाल।'
राजनीतिक दलसम्बन्धी ऐन– २०७३ मा पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्य हुने प्रावधान छ। तर, सरकारले यसलाई फेरेर पार्टी विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये एक ठाउँमा ४० प्रतिशत सदस्य भए हुने व्यवस्था गर्न लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।