काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी समूहका नेतालाई सचिवालय बैठकपछि बसेर सल्लाह गर्ने जवाफ दिएका छन्।
‘अहिले सचिवालय बैठक हुँदैछ। त्यहाँ के-के छलफल हुन्छ, के के निर्णय हुन्छ हेरौं। अनि बसेर सल्लाह गरौंला’, प्रचण्डको भनाई उद्धृत गर्दै एक पूर्व माओवादी नेताले भने, ‘तपाईंहरु (स्थायी कमिटीसम्मका नेताहरु) कहीँ कतै नजानुहोला।‘
प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि पूर्व माओवादीभित्र खैलाबैला मच्चिएको छ।
यसैबीच, अहिले नेकपाको सचिवालय बैठक बसिरहेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पार्टी विभाजन गर्न सहज हुने प्रावधान सहितको अध्यादेश ल्याउने निर्णय गरेपछि पार्टी सचिवालयको आकस्मिक बैठक बोलाइएको छ।
धुम्बाराहीमा बेग्लै बैठक बोलाउने प्रचण्डको चेतावनीपछि बालुवाटारमा सचिवालय बैठक
मन्त्रिपरिषद्को निर्णय बाहिरिएसँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए। तर ओलीले सुरुवातमा अस्वीकार गरेका थिए।
‘सुरुमा बैठक बोलाउन ओली मान्नुभएको थिएन’, प्रचण्ड निकट स्रोतले नेपाल लाइभलाई भन्यो, ‘तपाईंले बैठक नबोलाए मैले धुम्बाराहीमा सचिवालय बैठक डाक्छु भनेर प्रचण्डले चेतावनी दिएपछि बैठक बोलाउन ओली तयार हुनुभयो।’
पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई सचिवालयले यसअघि नै दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।