काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद झनै गहिरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पार्टी विभाजन गर्न सहज हुने प्रावधान सहितको अध्यादेश ल्याउने निर्णय गरेपछि पार्टी सचिवालयको आकस्मिक बैठक बोलाइएको छ।
मन्त्रिपरिषद्को निर्णय बाहिरिएसँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए। तर ओलीले सुरुवातमा अस्वीकार गरेका थिए।
‘सुरुमा बैठक बोलाउन ओली मान्नुभएको थिएन’, प्रचण्ड निकट स्रोतले नेपाल लाइभलाई भन्यो, ‘तपाईंले बैठक नबोलाए मैले धुम्बाराहीमा सचिवालय बैठक डाक्छु भनेर प्रचण्डले चेतावनी दिएपछि बैठक बोलाउन ओली तयार हुनुभयो।’
पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई सचिवालयले यसअघि नै दिएको छ।
आज बसेको मन्त्रिपरिषद्ले पार्टीको संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत पुर्याए पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो। यसले नेकपाको भविष्यलाई लिएर अनेक आकलन भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।